झापा / गोरखाको मनास्लु हिमालमा हिमपहिरोमा परेर दुई आरोहीको मृत्यु भएको छ। मनास्लुको क्याम्प–३ मा हिमपहिरो खस्दा भारतीय–जर्मन आरोही ध्रुव ज्योति गुहा र नेपाली शेर्पा गाइड फुर्सेम्बा शेर्पा पुरिएर मृत्यु भएको हो।
आइतबार बिहान क्याम्प–३ मा रहेका उनीहरूको टेन्ट हिमपहिरोले पुरेको थियो। आरोहीसँग सम्पर्क विच्छेद भएपछि उद्धार टोली क्याम्प–३ पुगेको थियो। त्यसक्रममा उनीहरूलाई करिब सात फिटसम्म जमेको हिउँमुनि टेन्टभित्र मृत अवस्थामा फेला पारिएको थियो।
अभियान आयोजकका अनुसार प्रतिकूल मौसम र लगातारको हिमपात तथा तीव्र हावाका कारण मनास्लुको उच्च क्षेत्रमा जोखिम बढेको थियो। यही कारण धेरै आरोहीहरू क्याम्प–२ बाट आधार शिविरतर्फ फर्किएका थिए भने गुहा र शेर्पा भने क्याम्प–३ तर्फ अघि बढेका थिए।
यो घटनासँगै यस शरद ऋतुको मनास्लु आरोहणमा मृत्यु हुनेको संख्या चार पुगेको सम्बन्धित स्रोतहरूले जनाएका छन्। यसअघि सिंगापुरका ५० वर्षीय आरोही लाउ वी सेङको क्याम्प–२ बाट झर्दै गर्दा करिब ६ हजार मिटरको उचाइमा मृत्यु भएको थियो। त्यस्तै, नेपाली पोर्टर टासी शेर्पा पनि मनास्लु आधार शिविरमा मृत फेला परेका थिए।
मकालु एड्भेन्चरबाट मनास्लु आरोहणका लागि गएका उनीहरूको शव सोमबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंं लैजाने तयारी गरिएको बताइएको छ ।
यस वर्ष मनास्लु आरोहणका लागि ठूलो संख्यामा विदेशी आरोही पुगेका छन्। हिमालको आरोहण मार्ग क्याम्प–३ हुँदै शिखरतर्फ खोलिएको केही दिनमै उच्च क्षेत्रमा हिमपहिरोको घटना भएको हो। यो सिजनमा मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन् ।