झापा / नेपालमा फेरि मौसम सक्रिय हुने संकेत देखिएको छ। मौसमविद्हरूले आगामी असोज ८ गतेदेखि देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसमविद्हरूका अनुसार असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित हुने मौसमी प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुने सम्भावना छ। यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिएमा देशका विभिन्न क्षेत्रमा वर्षाको मात्रा उल्लेख्य रूपमा बढ्न सक्ने आकलन गरिएको छ।
हाल उत्तर अण्डमान सागर आसपास न्यूनचापीय क्षेत्र विकसित भइरहेको छ। उक्त प्रणाली थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने सम्भावना रहेकाले त्यसको प्रभाव बंगालको खाडी हुँदै नेपालसम्म पर्न सक्ने मौसमविद्हरूको भनाइ छ।
प्रारम्भिक मौसमी मोडलहरूमा सुदूरपश्चिम र मध्य नेपालमा धेरै भारी वर्षाको सम्भावना देखिएको मौसमविद् सञ्जीव अधिकारीले बताएका छन्। यद्यपि अहिलेको पूर्वानुमान प्रारम्भिक चरणमा रहेकाले प्रणालीको दिशा र शक्तिमा परिवर्तन आउनसक्ने भएकाले वर्षाको वास्तविक प्रभावबारे थप स्पष्ट हुन केही दिन कुर्नुपर्ने हुन्छ।
अर्का मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा नेपालमा ठूलो वर्षाको सम्भावना देखिएको छ। केही पूर्वानुमान मोडलले अत्यधिक वर्षाको संकेतसमेत देखाएको भन्दै उनले आगामी दिनमा मौसमसम्बन्धी सूचनालाई गम्भीरतापूर्वक पछ्याउनुपर्ने बताएका छन्।
भारी वर्षा भएमा बाढी, पहिरो, डुबान, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्छ। यसले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनमा समेत असर पार्नसक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वतयारी अवस्थामा रहन मौसमविद्हरूले सुझाव दिएका छन्।
जल तथा मौसम विज्ञान विभागले पनि मौसमी प्रणालीको निरन्तर निगरानी गरिरहेको छ। विभागले जारी गर्ने नियमित मौसम पूर्वानुमान तथा बाढीसम्बन्धी सूचना हेर्न र जोखिमको अवस्था देखिएमा स्थानीय प्रशासन तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
नेपालमा सामान्यतया अक्टोबरको सुरुआततिर मनसुन बाहिरिने गर्छ। तर यस वर्ष पनि मनसुनको प्रभाव असोजसम्म कायम रहने र त्यस अवधिमा सक्रिय प्रणालीका कारण वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। पछिल्ला केही वर्षमा पनि असोज महिनामा भारी वर्षाका घटना देखिएकाले आगामी मौसमी गतिविधिलाई सामान्य रूपमा नलिन सुझाव दिइएको छ।