झापा / इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको बोलेरो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकमा पल्टिँदा चालक गाडीले थिचिएका थिए।
दुर्घटनामा देउमाई नगरपालिका–१ चमैता निवासी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरीका अनुसार प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरोमा दुर्घटनाका बेला चालक बस्नेत मात्रै सवार थिए।
दुर्घटनाको सूचना पाएपछि प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक सन्तोषकुमार राईको नेतृत्वमा अनुसन्धान टोलीसमेत खटिएको थियो।
प्रहरीका अनुसार बोलेरो सडकमा पल्टिनुको यकिन कारण खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।