झापा / सरकारले सुरु गरेको 'करदाता प्रोत्साहन उपहार योजना' अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच गोलाप्रथामार्फत भाग्यशाली विजेताहरूको छनोट गरिएको थियो।
बम्पर उपहारबाहेक साउन १ देखि १५ गतेसम्मको अवधिमा वस्तु तथा सेवा खरिद गर्ने अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले नगद पुरस्कार जितेका छन्। विजेताहरूको व्यक्तिगत गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै विभागले उनीहरूको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरेको कुरा स्पष्ट पारेको थियो।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले विजेताहरूको छनोट 'क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्यान्डम स्याम्पलिङ' प्रविधि (कम्प्युटर प्रणाली) बाट गरिएको जानकारी दिएका थिए। यस प्रणालीमा कुनै मानवीय हस्तक्षेप नहुने भएकाले नतिजा पूर्ण रूपमा पारदर्शी रहेको उनले दाबी गरेका थिए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उपभोक्ताहरूमा सामान किन्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउन र कर प्रणालीलाई थप पारदर्शी बनाउन यो कार्यक्रम घोषणा गरेका थिए।