विभागीय कारबाहीमा परेर तानिएका झापा र सुनसरीकासहित ३३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले एसपीहरूको बिहीवार सरुवा गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो। यो सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुनेछ।
नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गराउने, घुमुवा परिचालन गरेर अवैध असुली गर्नेदेखि विभागीय अनुशासन उल्लङ्घन गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपाल झापाका एसपी जोशी र सुनसरीका एसपी कार्कीलाई मुख्यालयले छानबिन एवं अनुसन्धानको दायरामा काठमाडौँ तानेको थियो ।
स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापाका प्रमुख रहेका एसपी अम्बिकाप्रसाद जोशी सशस्त्र प्रहरीका हवल्दार हरि मगरको बयानपछि अनुसन्धानको दायरामा परेका हुन् ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्कीलाई सशस्त्र प्रहरीका जवान पारस यादवलगायतका कर्मचारीको बयानपछि मुख्यालय बोलाइएको स्रोतले जनाएको छ ।
सुनसरीमा साउन १० गते राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रको समेत सुरक्षा कमान्ड सम्हालेका एसपी कार्की हलचोकमा थिए । गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा एउटा बेनामे उजुरीलाई आधार बनाएर एसपी श्याम कार्कीलाई हलचोक तानिएको थियो ।
झापाका एसपी जोशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही सरुवा गरिएको छ । उनको ठाउँ झापामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागमा कार्यरत सचिन कर्माचार्यलाई पठाइएको छ । सुनसरीका एसपी कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दाघाट नवलपरासी सरुवा गरिएको छ । उनको ठाउँ सुनसरीमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत एसपी तीर्थबहादुर थापालाई पठाइएको छ ।
गृहमन्त्री सुधन गुरुङको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापा १५ दिनदेखि निमित्तको भरमा संचालन हुँदै आएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मदन रसाईलीले निमित्त गणपति भएर कार्यभार सम्हाल्दै आएका छन् ।