पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि करिव ७ किलोमिटर उत्तरमा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाम अवस्थित छ । सोही महेन्द्र राजमार्गदेखि करिव २५ किलोमिटर दक्षिणमा कचनकवलको भुतेश्वर महादेवको मन्दिर रहेको छ ।
श्रावणी पर्वका अवसरमा दुवै धार्मिक स्थलमा दर्शनार्थीहरुको उस्तै घुइँचो लाग्छ । यस वर्षको श्रावणी पर्वमा दुवै धार्मिक स्थलमा करिव एक–एक लाखको हाराहारीमा भक्तालुहरुको उपस्थिति रह्यो ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएपनि ती दुई धार्मिक स्थलबीच केही भिन्नता छ । भौतिक पूर्वाधारले सम्पन्न अर्जुनधारा जलेश्वर धाम व्यवस्थित छ । देशकै धार्मिक एवं पर्यटकीय स्थलको सूचीमा सूचीकृत अर्जुनधारा धामको विकासमा सरकारी सहयोगसंगै दानवीरहरुको योगदान पनि उत्तिकै छ । स्थानीयहरुको सक्रियताकै कारण जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय स्थलहरुलाई पछि पार्दै अर्जुनधारा प्रख्यात बनेको हो ।
उता भुतेश्वर महादेव मन्दिर आस्थाको धरोहर हुँदाहुँदै जीर्ण र अव्यवस्थित छ । २०१२ सालमा बैजनाथ राजवंशीले भुतेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका थिए ।उनैले मन्दिरलाई २ विगाह १६ कठ्ठा जग्गा दान दिएका थिए । त्यही मन्दिरलाई रंगरोकनबाहेक अरु केही पनि गर्न सकिएको छैन । मन्दिर भत्किन लागिसकेको छ । वरिपरि रहेका साना मन्दिरहरुलाई व्यवस्थित गर्न खाँचो छ । त्यस्तै मन्दिरदेखि दक्षिण निर्माण गरिएको कैलाशनाथको मूर्ति जाने सिँढी अलपत्र अवस्थामा छ । भक्तालुहरुले स्नान गर्ने र जल चढाउने पैनी(गंगा)लाई व्यवस्थित गर्न सकिएको छैन ।
भुतेश्वर मन्दिरमा दर्शन गर्न आउने अधिकांश आदिवासी समुदायका छन् । झापा , मोरङदेखि भारतको बंगाल र विहारसम्मका मानिसहरु दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा जाने फराकिलो र पक्की सडक छैन । धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएर हजारौ भक्तालुहरु कच्ची र साँघुरो बाटोबाट आउन बाध्य हुँदा आफूहरु राज्यको उपेक्षामा परेको महसुस भएको भुतेश्वर महादेव मन्दिर समितिका सचिव टेमानन्द राजवंशी बताउँछन् । मन्दिरको संरक्षण र संवद्र्धनका लागि सरकारबाट खासै सहयोग नआएको उनले गुनासो गरे । विगतको तुलनामा भक्तालुहरुले चढाएको भेटी बढ्दै गएको र त्यसबाट मन्दिर संचालन गर्न सहयोग पुगेको सचिव राजवंशीले बताए ।
छिमेकी पालिका भद्रपुरमा रहेको किचकवधजस्तै भुतेश्वर महादेवको मन्दिरलाई पनि विकास गर्न सके देशकै धार्मिक एवं पर्यटकीय स्थल बन्न सक्छ ।