फायल फाेटाे
झापा । झापाका ६ पालिकामा आज मंगलबार श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको हो ।
श्रीकृष्ण भगवान् सवार रथको विशेष पूजा अर्चना पश्चात् भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट आज दिउँसो २ बजे रथयात्रा निकालिने छ ।
विभिन्न झाँकीसहित निकालिने रथयात्रा गौशाला, झापाचोक, संगमचोक, सगरमाथा चोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन हुनेछ । यस वर्ष रथयात्राको दुरी घटाइएको छ । विगतका वर्षहरूमा भद्रपुर–३ स्थित ज्ञानेचोकसम्म रथ लगिन्थ्यो ।
त्यस्तै बिर्तामोडमा दोस्रो वर्ष रथयात्रा निकाल्ने तयारी गरिएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडले अघिल्लो वर्ष छुट्टाछुट्टै रुपमा बिर्तामोडमा श्रीकृष्ण रथयात्रा निकालिएको थियो । तर, यस वर्ष यी दुवैको आयोजनामा बृहत् रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए ।
बिहान ११ गते विशेष पूजाअर्चाना गरिने र दिउँसो ३ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने उनको भनाई छ । रथयात्रा बिर्तामोड बजार परिक्रमा गर्ने जनाइएको छ । सद्गुरु सदनले दुई वर्ष अघि पनि एकल रथयात्रा निकालेको थियो ।
त्यसैगरी दमक नगरपालिकामा आठौँ श्रीकृष्ण रथयात्रा भव्यताका साथ निकाल्नका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ । दमकको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा पुगेर समापन गरिने छ । रथयात्रामा विभिन्न झाँकी समेत प्रदर्शन गरिएको उनको भनाई छ ।
गौरीगञ्ज गाउँपालिकामा चौथो पटक रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी श्रीकृष्ण रथयात्रा समारोह समितिले रथयात्रा निकालिएको हो । २०७५ सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । समितिले दुई वर्ष अघि नै नयाँ रथ बनाएको थियो । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने जनाइएको छ ।
त्यस्तै गौरादहमा पनि रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरादह १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित निकालिने रथ बजार परिक्रममा गरी पुनः मन्दिरमा आएको समापन हुने जनाइएको छ । झापा गाउँपालिका–६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गले दोस्रो वर्ष पनि गाडीमा भगवान् श्रीकृष्ण राखेर रथ निकाल्ने तयारी गरेको छ ।
सो रथयात्रा झापा–७ दयालधाम, मदरगाछ हुँदै शरणामती बजार परिक्रमा गरेर
पुनः मन्दिरमा पुगेर समापन हुने जनाइएको छ ।