सुनसरीको बर्जु गाउँपालिका– १ मा पर्ने झोरा खोला किनारमा रामप्रसाद ऋषिदेवको परिवार बसेको वर्षाैं भयो ।
बर्खामा मात्रै पानी बग्ने खोलाको आसपसाको जग्गा ऐलानी हो, ऐलानी जग्गामा मुसहर समुदायको बस्ती छ । सडकको सुविधा पनि नभएको यो बस्तीलाई एकान्त टोल नाम दिइएको छ ।
रामप्रसादका अनुसार खोलासँग जोडिएको खाल्डो पुरेर उनले बास, पराल र कर्ची प्रयोग गरेर अस्थायी टहरो बनाएका थिए । उनले टहरा बनाएको जग्गालाई स्थानीय बर्जु–१ कै जागेश्वर यादवले आफ्नो भएको दाबी गरे ।
आफूले वर्षाैंदेखि भोगचलन गरेको जग्गा छाड्न रामप्रसाद तयार भएनन् । २५ जेठ विहान जागेश्वरले १५–१६ जनाको समूह लिएर रामप्रसादले बनाएको घरमा पुगे । माटो पुरेर बासको खाबो र परालको छानो र बासकै कर्चीको टाटी लगाएको छाप्रो भत्काए । रामप्रसादका बुबा आमासहित गाउँलेलाई कुटपिट गरे । उनका अनुसार १५ जेठमा सोही समूहले घरमा आगो लगाउने प्रयास गरेको थियो ।
२५ जेठमा लाठी, खुकुरीसहित जागेश्वरको समूह मुसहर बस्तीमा आएको थियो । रामप्रसादसहित गाउँलेमाथि आक्रमण हुँदै गर्दा छिमेकी ६० वर्षीय हरिलाल ऋषिदेव झगडा नगर भन्दै आइपुगे ।
आक्रोशित भिडलाई बसेर छलफल गर्न आग्रह गर्दा उनीमाथि बासको भाटा प्रहार भयो । झगडा मिलाउन आएका हरिलाललाई आक्रोशित समूहले लखेटी लखेटी कुटे, गम्भीर घाइते अवस्थामा अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भयो ।
‘घर भएको ठाउँ हामीले पुरेको हो, पहिले खाल्डो थियो’, जागेश्वरको समूहले भत्काएको घर देखाउँदै रामप्रसादले भने, ‘खाल्डो पुरेपछि ऐलानी जग्गा मेरो हो भन्दैछन्, तर उनको जग्गाको सीमा खाल्डोसम्म पुग्दैन ।’
रामप्रसादले घर भत्काएको स्थानमा झोरा खोलाको पानी बगिरहेको छ । जागेश्वरको समूहले टहरा भत्काएपछि रामप्रसाद आमाबुबाको घरमा बसिरहेका छन् ।