झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा अनियमितता गर्ने पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका वडा नं. ८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा अनियमितता भएको पाइएको छ । यस कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीलगायत संलग्न रहेका छन् ।
उनीहरुले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको पाइएको छ । निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ भुक्तानी दिएर सरकारी रकम हानिनोक्सानी गरेको उनीहरुविरुद्द आरोप रहेको छ । मरासेनी र चौधरीलाई ६ लाख ५८ हजार ४ सय चालीस रुपैयाँ बिगो कायम गरिएको छ ।