झापा । झापामा उपेक्षामा परेका उष्ण प्रादेशिक रोगका कारण मानिसमा नकारात्मक प्रभाव परिरहेको पाइएको छ ।
१० प्रकारका उपेक्षामा परेका उष्ण प्रादेशिक रोगको प्रभाव रहेको झापामा हात्तीपाइले र कुष्ठ रोग प्रमुख समस्या भएर समाजमा नकारात्मक प्रभाव परिरहेको पाइएको हो ।
कोशी प्रदेशमा
हात्तीपाइलेको संक्रमण दर नियन्त्रण हुन नसकेको जिल्लामा झापा पहिलो
नम्वरमा छ भने तीव्र गतिमा संक्रमित हुने कुष्ठ रोगको प्रभाव रहेको
जिल्लामा पनि झापा कोशी प्रदेशमा पहिलो नम्बरमा रहेको छ ।
१२ वर्षयता निरन्तर औषधि खुवाउने काम भइरहेको झापा जिल्लामा हात्तीपाइले
र कुष्ठ रोग निवारण हुन नसक्नुमा व्यक्ति, समुदाय, राज्य तथा नियामक
निकायको उपेक्षा प्रमुख कारण रहेको अध्ययनले देखाएको छ ।
झापामा अहिले
पनि २४ प्रतिशत नागरिक हात्तीपाइले रोगको संक्रमण बोकेर हिडिरहेको स्वास्थ्य कार्यालयको विवरणले देखाएको छ भने झापाको अर्जुधारा, भद्रपुर र
कनकाई नगरपालिकामा अधिक हात्तीपाइलेका रोगी रहेका छन् । १२ वर्षयता हात्ती
पाइले निवारणका लागि अभियान चलिरहे पनि स्थानीय सरकार तथा मातहतका
कर्मचारीले सही रूपमा समन्वय गरेर काम गर्न नसक्दा हात्तीपाइले निवारणको
सूचकमा असफल भएको देखिएको छ ।
झापाको सदरमुकामसमेत रहेको भद्रपुर नगरपालिकामा हात्तीपाइले निवारणमा ५३
प्रतिशत मात्र उपलब्धी प्राप्त भएको देखिन्छ भने सूचक पार गर्न ८० प्रतिशत
उपलब्धी हुनु पर्ने जनाइएको छ ।
कार्यक्रममा यस वर्ष हात्तीपाइले निवारणका लागि सवै पक्षसंग समन्वय गरी
तोकिएको सूचक पार गर्ने प्रतिबद्धता जनाउँदै भद्रपुर नगर प्रमुख गणेश
पोखरेलले आफूले पदभार ग्रहण गर्नुपूर्व ३५ प्रतिशत मात्र उपलब्धी रहेकोले
अहोरात्र खटिदा ५३ प्रतिशतमा पुग्न सकेको जानकारी दिए ।
यस्तै शिवसतासी नगर प्रमुख मेगाहाङ थोप्राले आफूले सोचेअनुसार कर्मचारीले काम गर्न नसक्दा ७१ प्रतिशत मात्र उपलब्धी भएको जानकारी दिँदै शतप्रतिशत उपलब्धी प्राप्त गर्न यस वर्ष बाधक कर्मचारी फेरेर भए पनि काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काले हात्तीपाइलेलगायत
उपेक्षामा परेका उष्ण प्रादेशिक रोगको संक्रमण उन्मूलनका लागि सवै
पालिकासित समन्वय गरेर नयाँ रणनीति तय गर्ने जानकारी दिइन् ।
कार्यक्रमको सहजीकरण गर्दै जनस्वास्थ्यकर्मी कैलास खाकी श्रेष्ठले सन्
२०२३ मा झापामा ७७.५ प्रतिशत व्यक्तिले हात्तीपाईलेबिरूद्धको औषधी खाएको
तथ्यगत विवरण भए पनि उल्मूलनको सूचक पार गर्न नसकेको भन्दै यस वर्ष सूचक
पार गरेर कोशी प्रदेशलाई हात्तीपाइले रोगमुक्त प्रदेश बनाउन सवै सरोकारवाला
निकायलाई अनुरोध समेत गरेका छन् ।
भद्रपुर नगर प्रमुख पोखरेलको
अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा
सम्पन्न सरोकारवालासंगको छलफलमा हात्तीपाइले उन्मूलनका लागि एकजुट भएर काम
गर्ने प्रतिबद्धता समेत जनाइएको थियो ।