बनियानी । पूर्व गुहमन्त्री तथा चितवन क्षेत्र नम्बर २ का सङ्घीय साँसद् समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले आउँदो ०८४ सालको निर्वाचनमा फोहोरलाई सफा गरिसक्ने दावी गरेका छन् ।
शनिबार झापाकाे बनियानीमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयाेजना गरेकाे सङ्गठन निर्माणमा अवसर र चनाैति कार्यक्रममा बाेल्दै लामिछानेले पुराना तथा ठूला नेताहरु पहाड नभएर एउटा गन्हाउने फोहोरको डङ्गुर भएको आरोप लगाएका थिए । उनले पुराना नेताहरुले अवैद्य सम्पत्ति लुकाउन लागि परेको आरोप समेत लगाए । पुराना राजनीतिक पार्टीका नेताहरू ३२ बर्ष लगाएर भेला पारेको अवैध सम्पत्ति लुकाउन बल गरिरहेको उनको भनाइ थियो । देशलाई कङ्गाल बनाएर थुपारेको सम्पत्तिको हिसाब खोज्ने उनले दावी गरे ।
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन भएको लामिछानेले बताए । देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएको उनको भनाइ थियो । पुराना राजनीतिक दलका अनैतिक सेटिङ्ले नै युवामा देशभित्र केही गर्ने जाँगर हराएको बताए ।
चितवनमा चलाएको ब्लु बसको बिषयमा स्पष्ट पार्दै लामिछानेले सार्वजनिक यातायातमा महिलामाथि दुव्र्यवहारको घट्ना हुन नदिन महिलाका लागि मात्रै ब्लु बस चलाएको बताए । अनेकौ मुद्दा चलाएर मुद्दाको व्यापार बन्द भएपछि लालछना लगाउने पसल सुरु गरेको उनको आरोप थियो ।
कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइले अब राष्ट्रिय स्वतन्त्र पार्टी वाहेक अन्य पार्टीले देश वनाउन नसक्ने ठोकुवा गरे । नातावाद कृपावाद गरेर कार्यकर्ता जोगाइरहने अन्य पार्टीमा देखिएको उल्लेख गर्दै पार्टी हित विपरीत कुनै प्रमाण फेला परेमा जुनसुकै तहका नेतालाइ घर पठाइने उनको भनाइ थियो । त्यसैगरी साँसद् निसा डाँगीले नयाँ घरमा वस्ने कि भत्केको घरमा वस्ने आफै निर्णय गर्न उनले सुझाव दिइन् । मेचि प्रादेशिक अस्पतालको विषय पहिलो पटक संसद भवनमा उठाएको उनले बताइन् । अबको कार्यदिशा देशमा शुसासन ल्याउने तर्फ लागिपरेको उनको भनाइ थियो ।
पार्टीले शुक्रबार र शनिबार झापाका पाँच वटै क्षेत्रमा खुला सभाको आयोजना गरेको छ ।