झापा । स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा झापाको मेचीनगरमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर –७ बस्ने २५ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडी सवार भारत किसनगंज गलगलिया बस्ने ३३ वर्षीय अजय माझी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
प्रहरीले दिएकाे विवरण अनुसार आज साँझ ५.२० बजे मेचीनगर –९ गोमनसरी सिमेन्ट फ्याक्ट्रीनजिक भित्री पक्की सडक खण्डमा सतिघट्टाबाट इटाभट्टातर्फ आउँदै गरेको होलिबेल बोडिङ स्कुलको मे १ क ३९१ न.को बस र विपरित दिशाबाट जाँदै गरेको मे.९.प.९००४ न.को २०० सीसीको एनएस मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएकाे थियाे । माेटरसाइकल सवार दुवैजना गम्भीर घाइते भएका थिए । उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा साँझ ५;५० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतकहरुको शव सोही अस्पतालमा नै रहेको छ ।बस चालक मेचीनगर – ११ बस्ने ४२ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।दुबै सवारी साधन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।