सुनसरीको इनरुवाबाट प्रहरीले ठूलो परिमाणमा गाँजाजस्तो देखिने लागूऔषध बरामद गरेको छ। प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साल असोज ३ गते बिहान करिब ३ बजे इनरुवा नगरपालिका–१० जल्पापुरस्थित चम्राही टोलमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
सोही क्रममा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजाजस्तो देखिने पदार्थ लोड गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ।
प्रहरीले पिकअप गाडीसहित यादवलाई नियन्त्रणमा लिएर उक्त पदार्थ बरामद गरेको हो। बरामद पदार्थको कुल तौल १ हजार ४५४ किलो ८७० ग्राम रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका यादव, बरामद लागूऔषध र पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।