झापा / लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। पछिल्लो चार दिनमा विपद्का घटनामा परी कम्तीमा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता र पाँच जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले देखाएको छ।
प्राधिकरणका अनुसार बाढी, पहिरो तथा डुबानबाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विपद्का कारण करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रभावित तथा उद्धार गरिएका नागरिकका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा खाना, बसोबास तथा राहतको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
विपद्का कारण १४३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ वटा घरमा आंशिक क्षति पुगेको छ। बाढी र पहिरोका कारण सडक तथा यातायात सेवा प्रभावित भएका छन् भने विभिन्न स्थानमा पुल, सरकारी संरचना र पशुधनमा समेत क्षति पुगेको छ।
बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा, म्याग्दी र धनुषालगायत जिल्लामा बाढी, पहिरो तथा डुबानको प्रभाव देखिएको छ। कालीगण्डकी, मर्स्याङ्दी र नारायणी नदीको बहाव बढेपछि नदी आसपासका बस्तीमा कटान र डुबानको जोखिमसमेत बढेको छ।
गण्डकी प्रदेशमा मात्रै प्रारम्भिक प्रहरी विवरणअनुसार ११ जनाको मृत्यु, चार जना घाइते र चार जना बेपत्ता भएका छन्। प्रदेशका विभिन्न जिल्लामा १७९ घर पूर्ण र २६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने थप २७० घर जोखिममा परेका छन्। गण्डकीमा मात्रै १६२ परिवारका ५४० जना विस्थापित भएका छन्।
नवलपरासी पूर्वमा मात्रै डुबानका कारण १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४८ घर जोखिममा परेका छन्। त्यहाँ १६२ परिवारका ६१३ जना विस्थापित भएको प्रारम्भिक विवरण छ। स्याङ्जामा पनि १३ घर पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै २३ परिवारका ७२ जना विस्थापित भएका छन्।
यसैबीच बाढी तथा पहिरोको सम्भावित जोखिममा रहेका क्षेत्रमा उद्धार र राहतको काम जारी छ। जल तथा मौसमजन्य जोखिम कायमै रहेकाले नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका बस्ती र कमजोर संरचना आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत विवरण संकलनको काम अझै जारी रहेकाले मृतक, बेपत्ता, विस्थापित तथा भौतिक क्षतिको संख्या थप बढ्न सक्ने देखिएको छ।