झापा । एपीएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्डकपको उद्घाटन खेलमा विजयी भएको छ ।टाइब्रेकरमा भाग्यमानी सावित हुँदै संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
एपीएफका
लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका
थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली
चुमेको थियो ।
संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।
खेलको
चौथो मिनेटमै एपीएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको
क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् ।
उनको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।
१३ औँ मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार अकासियो । २० मिनेटमा
अनिसकै प्रहार गोलरक्षकले विफल बनाएदिए । २४ औँ मिनेटमा कुलदिप कार्कीको
पासमा गोलपोस्टनजिकै रहेका अनिसको हेडर बाहिरियो ।
५५ औँ मिनेटमा
एपीएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक
निशान रानाले पञ्च गरेर बचाए । ७६ औँ मिनेटमा एपीएफका प्रदिप लामाको प्रहार
बारको केही नजिकबाट बाहिरियो ।
अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार
संकटाका गोलरक्षकले मुश्किलले पञ्च गरेर बचाए । खेल अवधिभर गोल गर्ने
थुप्रै अवसर बनाएको एपीएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय
टाइब्रेकरमा गएको थियो ।
३४ औँ मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपीएफका
गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औँ मिनेटमा संकटाका कप्तान
गणेश हमालको हेडर एपीएफका गोलरक्षकले बचाए ।
खेलको प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको
विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने
छन् । आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड
काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।
शनिबारदेखि सुरु भएको
प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए
डिभिजनका सहित १० टिमको सहभागिता रहेको छ ।