झापा । एमालेको भर्याङ चढेर लगातार झापा–३ मा दुई कार्यकाल चुनाव जितेका विघटित प्रतिनिधि सभा सदस्य एवम राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ‘ह्याट्रिक’ गर्ने दाउमा लागेका छन् । लिङ्देन तीन दशकदेखि एकलौटी चुनाव लड्दै आइरहेका छन् । काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाको ‘आधार इलाका’ झापा– ३ मा विपक्षीखेमाका राजेन्द्रकुमार घिमिरेले टिकट पाउनु र एमालेले बाह्र वर्षसम्म ‘सूर्य’ चिह्नमा मत हाल्न नपाएको क्षेत्र यो पटक राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ‘ह्याट्रिक’ गर्ने दाउमा लागेका हुन् ।
याे पटक काङ्ग्रेसमा छक्का–पञ्चा गर्ने नेता कृष्णप्रसाद सिटौलाको चाबी खोसिएको छ । विगतमा लिङ्देनलाई कडा टक्कर दिने सिटौला यसपटक चुनावी मैदानमा नदेखिएपछि लिङ्देनलाई सहज अनुभव भएको छ । लगातार दुई पटक (२०७४ र २०७९ मा) सिटौलालाई चुनाव हराएर लिङ्देनले यो क्षेत्रलाई आफ्नो पकड बनाएकोमा ढुक्क छन् ।
पछिल्ला दुईवटा चुनावमा झापा ३ र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच तालमेल हुँदै आएको थियो । तर यो पटक यी दुवै क्षेत्रमा एमाले र राप्रपाले आ–आफ्नो उम्मेदवार उठाएका छन् । काङ्ग्रेस विशेष महाधिवेशनपक्षको पोल्टामा माहोल नगएको भए घिमिरेले यसपटक पनि टिकट पाउने थिएनन् । घिमिरे, सिटौला विपक्षीखेमाका काङ्ग्रेस कार्यकर्ता हुन् ।
अर्काे तर्फ एमाले ‘हामीले योपटक १२ वर्षपछि ‘सूर्य’ चिह्नमा भोट हाल्न पाउने भएका छौँ ।’ एमालेजनको यो उत्साहप्रति आममतदाता भने शङ्कालु बनेका छन् । किनकी यो क्षेत्रमा नेपाली काङ्ग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दल पनि कम देखिँदैनन् ।
झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाली काङ्ग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले)बाट संविधानसभा सदस्य हरिबहादुर राजवंशी, रास्वपाका जिल्ला सभापति प्रकाश पाठक, नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरे (हिक्मत), श्रम संस्कृति पार्टीका दीपक तिम्सिना, जसमा अभय राजवंशी र मानप्रकाश सङ्ग्रौलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आदिवासी बहुल बस्तीले भरिएको झापा ३ मा जसले ती क्षेत्रका (आदिवासी) मतदातालाई विश्वस्त पार्न सक्छन्, त्यही उम्मेदवारले जित हासिल गर्ने सम्भावना देखिएको आँकलन छ ।
क्षेत्र नम्बर ३ मा एमालेले तीस वर्षभन्दा यता चुनाव नजितेको, बाह्र वर्षसम्म उम्मेदवार हुन नपाएको, २७ वर्ष शिक्षण पेसामा रहेको, देशकै ठूलो सहारा साकोसको अध्यक्षलगायतका कारणले उम्मेदवार राजवंशीको जित निश्चित हुने एमालेका मतदाता बताउछन् । राजवंशीलाई जिताउन पार्टी पङ्क्तिबाट कुनै कसर बाँकी नराख्ने उनीहरूकाे भनाइ छ । एमाले पार्टी इमान्दार भएर लागेको अवस्थामा झापा ३ मा हरिबहादुर राजवंशीले राप्रपा अध्यक्ष लिङ्देनलाई कडा टक्कर दिन सक्ने देखिएको छ ।
राप्रपालाई केही राहत
यसपटक काङ्ग्रेसका सिटौला उम्मेदवार नबनेपछि राप्रपालाई केही राहत मिलेको छ । ०७९ को स्थानीय तहको चुनावमा कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध काङ्ग्रेस–एमालेले गठबन्धन गरेका थिए । ०७४ मा अध्यक्ष र उपाध्यक्षसहित कचनकवलमा बहुमत ल्याएको राप्रपालाई ०७९ मा काङ्ग्रेस–एमाले गठबन्धनले ‘शून्य’ को अवस्था बनाएको थियो । त्यो बेलादेखि बिच्किएको राप्रपा एमालेको भोट राप्रपालाई नआउने राप्रपा नेतृत्वको विश्लेषण छ । हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत, भद्रपुर नगरपालिकामा उपमेयर तथा बाह्रदशी गाउँपालिकामा वडाध्यक्ष जनप्रतिनिधि रहेको यस क्षेत्रमा लिङ्देन प्रतिनिधिसभा तथा निमसरी राजवंशी प्रदेशसभा सदस्य छन् ।
कसको पल्ला भारी ?
२०७९ मा राप्रपाका लिङ्देन एमालेसँगको गठबन्धनबाट ४० हजार ६ सय ६२ मत प्राप्त गरी लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । एक्लै चुनाव लडेका काङ्ग्रेसका सिटौलाले निकटतम् प्रतिद्वन्द्वी रहँदै त्यतिबेला ३७ हजार ३ सय ८६ मत प्राप्त गरेका थिए । आगामी चुनावमा घिमिरे सिटौलाले प्राप्त गरेको ३७ हजार मत सुरक्षित गर्ने दाउमा छन् । घिमिरेको जित–हार सिटौलापक्षको सहयोग–असहयोगमा निर्भर हुने धेरैको बुझाइ छ ।
झापा ३ मा चारवटा पालिका छन् । भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्छ । एक लाख ४० हजार ८ सय ५७ मतदाता रहेको क्षेत्रमा ९ हजार ४ सय नयाँ मतदाता थपिएका छन् ।
०७९
मा प्रत्यक्षतर्फ राप्रपाका लिङ्देनले चुनाव जिते पनि समानुपातिकतर्फ भने
काङ्ग्रेस पहिलो पार्टी बनेको थियो । काङ्ग्रेसले समानुपातिकतर्फ २५ हजार ५
सय ३५, राप्रपाले १९ हजार ७ सय ४३ र एमालेले १९ हजार ४ सय ६० मत प्राप्त
गरेको थियो । ०७९ मा प्रत्यक्षतर्फ तेस्रो मत प्राप्त गरेको रास्वपाले
समानुपातिकतर्फ चौथो मत ७ हजार ८ सय १२ प्राप्त गरेको थियो ।