झापा । भद्रपुरबाट ब्राउन सुगरसहित तीनजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति ४ जुनेली बस्ने २९ बर्षीय दीपक सम्बाहाम्फे, कमल ५ पाराजुङ्गे का २० बर्षीय पीजल धिमाल र सोही पालिका २ का ३२ बर्षीय केशब राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दिएको विवरण अनुसार मङ्गलबार साँझ ६ बजेको समयमा भद्रपुर ५ मेचीबिट स्थित वडा प्रहरी कार्यलय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री सम्बाहाम्फेलाई शङ्का लागि चेकजाँच गर्दा मलद्धारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित ३ ग्राम ३१० मिलिग्राम र प्लाष्टिक बाहेक ३ ग्राम ०८० मिलिग्रामसहित फेला पारी नियन्त्रणमा लिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यसैगरी मङ्गलबार नै दिउँसो बाह्रबजेको समयमा भद्रपुर ५ राजन चोक स्थित वडा प्रहरी कार्यलय भद्रपुरबाट नै खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री धिमाल र राईलाई शङ्का लागि चेकजाँच गर्दा निजले मलद्धार भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ३ ग्राम १० मिलिग्राम र प्लाष्टिक बाहेक २ ग्राम ४९ मिलिग्रामसहित मानिसहरुलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्लाका डिएसपी खड्काले जानकारी दिए ।
त्यस्तै अपरान्ह् साँढे ४ बजेको समयमा मेचीनगर ६ पुरानो मेचीपुल स्थित लागूऔषध ब्युरो नियन्त्रण काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानिट्याङकिबाट नेपालतर्फ आउदै गरेको प्र.१०१००२ ह ६५०० नम्बरको सिटी रिक्सा चालक सोही स्थानका ३१ बर्षीय युवराज दर्जीलाई पक्राउ गरेको छ । शङ्का लागी सोधपुछ तथा शरीर तलासी लिने क्रममा निजले चलाई ल्याएको रिक्साको अगाडीको सिसा लाग्ने फ्रेमको तल्लो भागमा प्लाष्टिकको पोका फेला परेकोले पोका खोली हेर्दा लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ मान्यता प्राप्त डिजिटल तराजु द्धारा नापतौल गर्दा प्लाष्टिकसहित ३ ग्राम, प्लाष्टिक बाहेक २ ग्राम ११० मिलिग्राम लागुऔषध भएकोले उल्लेखित लागुऔषधसहित उक्त सिटी रिक्सा र निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।