बिनोद सापकोटा
झापा । झापा दमक –९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै इलाका प्रहरी कार्यालय दमकको गेटमा प्रदर्शनकारीहरुले टायर बालेर विरोध गरेका छन् ।इलाका प्रहरी कार्यालय दमकले आज दिउँसो १२ बजेसम्ममा हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्ने बताएको थियो । प्रहरी आफैले दिएको समयसीमामा घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय दमक अगाडि चर्को नाराबाजी गरेका थिए । प्रहरीले हालसम्म घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका काका सुजन निरौलालगायत आफन्त, स्थानीय गरी करिब २ सय जना भेला भई “केपी चोर देश छोड, केपी तेरो पाराले दुःख पायो साराले, केपी ओली मुर्दावाद, हत्यारालाई कार्बाही गर, प्रहरी प्रशासन मुर्दावाद” जस्ता नारा लगाएका थिए । प्रहरी कार्यालयको गेट अगाडि सडकमा टायर बालेर धर्ना दिइरहेकोमा दमक नगर प्रमुख राम थापाले आएर भीडलाई सम्झाई बुझाई गरेका थिए ।
घटनाका विषयमा छलफल गर्न हिजो दमक नगरपालिकाको सभाहलमा सर्वदलीय बैठक
बसेको थियो । बैठकले हत्यामा संलग्न ब्यक्तिहरुलाई तत्काल पक्राउ गरी
आवश्यक कानुनी कार्बाही गर्ने सहमति जनाएको थियो । सो घटनाका कारण दमक केही
दिनयता अशान्त बनिरहेको छ । निरौलाको हत्या भएको चार दिन बितिसक्दा पनि
प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न नसकेको स्थानीयवासीको आरोप छ।
मृतकका आफन्त, स्थानीयवासी र जनप्रतिनिधिले दबाब दिएपछि मात्र पीडितको
किटानी जाहेरी प्रहरीले दर्ता गरेको थियो। जाहेरी दर्ता गरेपनि घटनासँग
जोडिएका उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतमबाहेक
मुख्य आरोपीहरुलाई पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ। मृतक निरौलामाथि
कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश
दर्जीसहित सो प्रकरणमा किटानी जाहेरी परेका पाँच जना पक्राउ नपर्नुका पछाडी
प्रहरी प्रशासनलाई उपल्लो निकायबाट दबाब आएको हुन सक्ने आँकलन पीडितले
गरेका छन् ।मृतक देशुकी पत्नी कृष्णमाया निरौलाले लिम्बू ,दर्जीसहित दमक– ८
का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, उर्लाबारी– ६ का प्रकाश कार्की,
उर्लाबारी– ७ का ध्रुव गौतम, इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध कर्तव्य
ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।
चेम्जोङबाहेक ६
जनाविरुद्ध घटनाको भोलिपल्ट बुधबार इलाका प्रहरी कार्यालय दमकमा जाहेरी
दर्ता भएको थियो भने चेम्जोङविरुद्ध बिहीवार मात्रै पुरक किटानी जाहेरी
दर्ता भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।