आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले जेठ महिनाभित्र वडा तथा पालिका अधिवेशन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ। जेठ ३ र १६ गते वडा अधिवेशन तथा जेठ १० र १७ गते पालिका अधिवेशन गर्ने तालिका तय गरिएको छ। त्यस्तै, जेठ २३ र २४ गते जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
रास्वपाले पहिलो महाधिवेशन भदौ वा असोजभित्र गर्ने तयारी गरेको जनाएको छ। यसअघि फागुनमै महाधिवेशन गर्ने योजना भए पनि निर्वाचनका कारण कार्यतालिका प्रभावित भएको थियो। अब भने पार्टीले तल्लो तहका संरचना सक्रिय बनाउँदै महाधिवेशनलाई केन्द्रमा राखेर संगठन परिचालन थालेको छ।
महाधिवेशनमार्फत १२९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने तयारी गरिएको छ। पार्टी विधानअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य रहने व्यवस्था गरिएको छ। वडा र पालिका तहका अधिवेशनबाट प्रतिनिधि छनोट हुँदै केन्द्रीय महाधिवेशनसम्म पुग्ने प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ।
राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समिति सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् । केन्द्रीय सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगका पदाधिकारी सदस्य सहभागी हुनेछन् । केन्द्रीय विभागबाट प्रमुख सहित ११ जनामा ३३ प्रतिशत महिला प्रतिनिधि छनोट गर्नुपर्दछ । संघीय संसद्का दुवै सभाका सदस्य र प्रदेश सभाका लागि सांसदहरू महाधिवेशनका लागि स्वतः प्रतिनिधि हुनेछन् ।
राष्ट्रिय सभा र प्रदेश सभामा रास्वपा जनप्रतिनिधि नभएको हुँदा प्रतिनिधि सभाका सदस्य महाधिवेशन प्रतिनिधि हुनेछन् । संशोधित विधान अनुसार केन्द्रीय समितिको आकार १२९ सदस्यीय हुने व्यवस्था छ ।
हाल रास्वपाको केन्द्रीय समितिको आकार ९२ सदस्यीय छ । उनीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानले व्यवस्था गरेको छ ।
प्रदेश समिति, त्यस अन्तर्गत रहेका अनुशासन लेखा, निर्वाचन समितिका पदाधिकारी प्रतिनिधि हुनेछन् । प्रदेश विभागबाट प्रदेश विभागका पदाधिकारीहरू प्रदेश– काठमाडौं सम्पर्क विभागको प्रमुख सहित ३ जना प्रतिनिधि छनोट गर्दा एक जना महिला अनिवार्य हुनुपर्दछ ।
जिल्ला समितिबाट सभापति सहित ५ जनामा १ महिला अनिवार्य गरिने व्यवस्था छ । जिल्ला– काठमाडौं सम्पर्क विभागको प्रमुख महाधिवेशनको प्रतिनिधि बन्नेछन् ।
संघीय प्रतिनिधि सभा क्षेत्र समिति अन्तर्गत निर्वाचन क्षेत्र संयोजक र संयोजकको मतदाता ठेगाना नभएको प्रदेश निर्वाचन क्षेत्रको उपसंयोजकलाई प्रतिनिधि बनाउने व्यवस्था छ ।
प्रवास नेपाली सम्पर्क विभाग अन्तर्गत विभिन्न देशमा रहेका प्रवास नेपाली सम्पर्क विभाग तथा त्यसका शाखा समेतबाट प्रतिनिधित्व हुने गरी प्रमुखसहित विभागको नियमावलीमा तोके बमोजिम अधिकतम ११ जना हुने व्यवस्था गरिएको छ ।
पालिका तहबाट सम्बन्धित पालिकाको सभापति वा सभापति सहभागी हुन नसक्ने अवस्थामा समितिले तोकेको समितिकै १ जनालाई महाधिवेशनको प्रतिनिधि हुनेछन् । पालिका अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि छनोट गर्ने प्रतिनिधिमा २०१ भन्दा बढी पार्टी सदस्य भएको गाँउपालिकाबाट १ जना पठाउने व्यवस्था छ । ४०१ भन्दा बढी पार्टी सदस्य भएको नगरपालिकाबाट २ जना, ५०१ भन्दा बढी पार्टी सदस्य भएको उपमहानगरपालिकाबाट ३ जना र ७०१ भन्दा बढी पार्टी सदस्य भएको महानगरपालिकाबाट ४ जना प्रतिनिधि छनोट गर्ने विधानको व्यवस्था छ ।
पालिका प्रमुख र उपप्रमुखमा निर्वाचित महाधिवेशनका स्वतः प्रतिनिधि हुनेछन् । विपत, राहत र उद्दारका लागि केन्द्रीय तहमा गठन भएको र्याटबाट संयोजक सहित पाँच जना केन्द्रीय महाधिवेशनका प्रतिनिधि हुनेछन् ।
सचिवालय बैठकले विभिन्न विभाग र जिम्मेवारी बाँडफाँटसम्बन्धी निर्णयसमेत गरेको छ। संगठन सुदृढीकरण, जिल्ला समितिको पुनर्गठन, उम्मेदवार छनोट कार्यविधि तथा अनुशासनसम्बन्धी विषयमा समेत छलफल भएको बताइएको छ।