संसदीय बहसबाट बालेनको दूरी: सामर्थ्यको अभाव कि परम्परागत कार्यशैलीविरुद्धको विद्रोह?

देश प्रदेश डेस्क 5204+ समाचार ( )
४ आषाढ २०८३, बिहीबार

झापा / नेपालको राजनीतिमा अभूतपूर्व जनमतसहित प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) संसद्का मुख्य र संवेनशील कार्यक्रमहरूमा समेत उपस्थित नभएपछि अहिले देशव्यापी रूपमा नयाँ बहस र विवाद सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन आधा घण्टामै बैठकबाट बाहिरिएका थिए भने त्यसपछिका मुख्य संसदीय अभ्यासहरूमा पनि उनी लगातार अनुपस्थित रहँदै आएका छन्। विशेषगरी पहिलो, सरकारको नीति तथा कार्यक्रममाथिको छलफल, दोस्रो, प्रधानमन्त्री आफैँ र उनको मातहतमा रहेका रक्षा लगायतका मन्त्रालयहरूसँग जोडिएका विषयहरूको बजेट छलफल, र तेस्रो, सदनमा सांसदहरूसँग हुने प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत उनी उपस्थित भएनन् ।

संसद्को नियम अनुसार प्रधानमन्त्री कार्यालय र मातहतका मन्त्रालयबारे उठेका प्रश्नको जवाफ आफैँले दिनुपर्ने भए पनि उनले आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तोकेका छन्। राज्यको नीति, योजना, बजेट निर्माण र जनप्रतिनिधिप्रतिको प्रत्यक्ष जवाफदेहिता जस्तो ऐतिहासिक घडीमा देशको कार्यकारी प्रमुख नै संसद्मा अनुपस्थित हुनु वा दुर्लभ देखिनुलाई प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेले संसद्कै अपमान र गैरजिम्मेवारपनको संज्ञा दिएका छन्। तर, बालेन शाहको यो अनुपस्थितिलाई केवल 'सामर्थ्यको अभाव' वा 'प्रश्नबाट भागेको' रूपमा मात्र हेर्नु एकाङ्गी विश्लेषण हुन्छ, यसका पछाडि उनको भिन्न राजनीतिक रणनीति र प्रशासनिक सोच लुकेको छ।

मुख्य कुरा, बालेन शाह परम्परागत संसदीय मर्यादा र 'कर्मकाण्डी' अभ्यासलाई भन्दा ठोस नतिजा र कामलाई बढी महत्त्व दिन्छन्। उनले संसद्मा दिनभरि बस्नु र सांसदहरूका राजनीतिक दाउपेचयुक्त प्रश्न सुन्नुभन्दा सिंहदरबारबाटै बजेटको सूक्ष्म व्यवस्थापन र नीतिहरूको व्यावहारिक कार्यान्वयनको योजना बनाउनुलाई बढी उत्पादक मानेका छन्। सरकारको नीति तथा कार्यक्रम, आफ्नो मातहतका मन्त्रालयको बजेट निर्माण र प्रत्यक्ष प्रश्नोत्तर जस्ता विषयहरूमा उनी संसद्‌भित्र हुने लामो भाषणबाजीलाई केवल समय खेर फाल्ने र सस्तो लोकप्रियता कमाउने माध्यमका रूपमा बुझ्ने गर्छन्। बालेन शाह 'संसद्लाई कुराकानी गर्ने थलो' भन्दा पनि 'काम गर्ने निकाय' का रूपमा चलाउन चाहन्छन्, त्यसैले उनले बजेट र प्राविधिक विषयहरूमा विषयविज्ञका रूपमा अर्थमन्त्री डा. वाग्लेलाई अघि सारेर संसदीय प्रश्नहरूको संस्थागत समाधान खोजेका हुन्।
यद्यपि, लोकतान्त्रिक र संसदीय व्यवस्थामा सरकारको प्रमुख संसद्प्रति प्रत्यक्ष उत्तरदायी हुनुपर्ने संवैधानिक अनिवार्य मर्म रहन्छ। नीति तथा कार्यक्रमको छलफल, आफ्नै मातहतका मन्त्रालयको बजेट रक्षा र सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर जस्ता तीनवटा संवेनशील खम्बामा प्रधानमन्त्री आफैँ नउभिँदा प्रतिपक्षलाई सरकारमाथि हाबी हुने र संसद् अवरोध गर्ने बहाना मिलेको छ भने संसदीय प्रणालीकै मानमर्दन भएको भन्दै राजनीतिक विश्लेषकहरूले समेत चिन्ता व्यक्त गरेका छन्।
कार्यपालिकाको नेतृत्व गर्ने व्यक्तिले विधायिका (संसद्) को सार्वभौमिकतालाई सम्मान गर्दै जनप्रतिनिधिहरूलाई विश्वासमा लिनु नै परिपक्व राजनीतिको परिचायक मानिन्छ। त्यसैले बालेनको यो कदम सामर्थ्य नभएर होइन, बरु संसदीय प्रणाली र आफ्नो कार्यसम्पादनको प्राथमिकतालाई हेर्ने उनको फरक विद्रोही दृष्टिकोणको उपज हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै