झापा । विभिन्न साइनाे लगाउँदै पूर्वका इलाम, झापा र मोरङका गाउँ–गाउँमा साइनो जोडेर पाहुना लाग्दै लुटेर भाग्ने भारतीय नागरिकलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
गत वर्ष र मंसिरमा इलामको माई नगरपालिका र सन्दकपुर गाउँपालिकाबाट पाहुना भन्दै बास बसेर नगद, मोटरसाइकल, स्कुटी, गरगहनालगायत लुटेको आराेपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा भारतको बिहार राज्यस्थित फारबिसगञ्ज अररियाको पोखरी बस्ती वडा १५ (उनको साथमा रहेको आधार कार्डमा उल्लेख भएअनुसार) का ३५ वर्षे सन्तोष थापालाई पक्राउ गरिएकाे जिल्लाका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।
उनलाई इलामको माई नगरपालिका–३ को
चियाबारीबाट पक्राउ गरिएका
थापाको साथमा अपांगता भएका १० वर्षे छोरा आर्यन थापासमेत छन् । दानाबारी
प्रहरी चौकीबाट खटिएकाे प्रहरी टाेलीले थापालाई
३८ प ११०५ नम्बरको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिइएकाे जवेगुले
जानकारी दिए ।
गत मंसिर ५ गते राति माई नगरपालिकाको कालीखोलाका ५६ वर्षिय धनबहादुर केरुङ र ६८ वर्षिय पूर्णबहादुर आलेमगरको घरकोठाबाट नगद १८ हजार आठ सय, एउटा ल्यापटप, एउटा टिभी, दुई थान मोबाइलसहित करिब एक लाख ६० हजार रुपैयाँबराबरको लुटिएको थियो ।
उनलाई पक्राउ गरेपछि जिल्ला र विभिन्न स्थानबाट उनले सामान लुटेर लगेको भन्दै पीडितहरू आउनेक्रम रहेको थियाे । माईको घटनापछि थापाले सन्दकपुर गाउँपालिका–३, सुुलुबुङका ललित गुरुङककाे घरमा मंसिर १४ गते बास बसी उनको मोटरसाइकल लिएर बेपत्ता भएका थिए । गतसाल माई नगरपालिकाकै शुक्रबारे बजारस्थित माया होटलमा बास बसेर उनले होटल सञ्चालिका माया गुरुङको स्कुटी लिएर गएका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका थापाले इलाममात्र नभई झापा र मोरङका विभिन्न स्थानमा पनि यस्तै घटना गराएका थिए । उनको साथमा भएको मोटरसाइकल उर्लाबारीका व्यक्तिको भएको पाएपछि थापालाई घटना अनुसन्धानका लागि अहिले उर्लाबारी प्रहरीमा पठाइएको प्रहरीले जनाएको छ ।
घटना १
गत मंसिर ६ गते माई नगरपालिका–५, कालीखोलामा ‘छोराको मित’ भन्दै आएका बाबु–छोरा नगद र सरसामान चोरी गरी बेपत्ता भए । स्थानीय धनबहादुर केरुङको घरमा मंसिर ४ गते दिउँसो ‘छोराको मित हो’ भन्दै अन्दाजी ३२ वर्षका राजु तामाङ नाम बताउने व्यक्ति र उनका साथमा ‘आर्यन’ नाम बताउने अन्दाजी आठ–१० वर्षका छोरा आएका थिए ।
पीडित केरुङका छोरा सञ्जितको मित र पीडित आलेको मितज्वाइँ बताउने व्यक्तिले सञ्जितका बुबामात्र बस्नेगरेको घर आइ ‘मित छोरा’ साइनो लगाएका थिए । केरुङले पनि पाहुना नै सम्झेर नजिकै रहेको सञ्जितको ससुराली (सम्धी)घरमा लगेर ती व्यक्तिलाई बास राखेका थिए । सञ्जित भने ११ वर्षयता भारतमा छन् ।
कलेजी रङ्गको सुपर स्प्लेन्डर मोटरसाइकल
चढेर आएका आफूलाई भारतीय लाहुरे बताउने ती व्यक्तिले एकलासमा रहेको घरका
आलेलाई र हरेक व्यक्तिलाई अलग–अलग ठेगाना बताएको खुलेको छ । उनीहरूले कहिले
दमक, कहिले धरान र कहिले इटहरी घर बताउने गरेका थिए ।
पीडित पूर्णबहादुरकी पत्नी ५९ वर्षीया नरमाया आलेले ज्वाइँको मित भनेर चोरी
गरी फरार व्यक्तिलाई अघिल्लो साँझ सेलरोटीसमेत पकाएर खुवाएकी थिइन् ।
पाहुनालाई घरको मुख्य कोठामा सुताएर ढुक्कले सुतेका आले परिवार बिहान ४ बजे ब्युँझिँदा बाबु–छोरा नै नदेखेपछि झस्किएका थिए । बूढा बाबु–आमालाई विदेशबाट छोरीले पठाइदिएको ल्यापटप, टिभी र सँगै रहेका नातिहरूको मोबाइलसमेत उनीहरूले लगेकाथिए ।
घटना २
माई नगरपालिका–५ को यो घटनाको सातापछि मंसिर १४ गते ठ्याक्कै त्यही हुलिया भएका व्यक्ति इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङ, याक्पीका ललित गुरुङको घर पुगे । आफूलाई पूर्वभारतीय सैनिक बताए र आफूलाई ‘बुबाको साथी’ साइनो लगाए । ललितका बुबा मित्रबहादुर गुरुङ पनि पूर्वभारतीय सैनिक नै हुन् ।
गुरुङ परिवारले पाहुनालाई लोकल कुखुरासमेतको मासु खुवाएर सत्कार गर्यो । मित्रबहादुर र ती व्यक्तिले ‘उहिलेका’ कुराकानी गरे । भारतीय सैनिकसँग सम्बन्धित भलाकुसारी गरे । ‘पुरानो साथी’का रूपमा ती नौला व्यक्ति र उनका बालक छोरा त्यो रात ललितकै घरमा बास बसे ।
भोलिपल्ट अपराह्न १ बजेतिर ती व्यक्तिले ललितलाई मोटरसाइकल मागे । ‘नजिकैको देउराली बजार’ पुगेर आउँछु भन्दै बालक छोरासहित मोटरसाइकल लिएर गएका ती व्यक्ति बेपत्ता भए । ललितको प्र१–१४–प–९५४१ नम्बरको पल्सर मोटरसाइकल पनि फेला पर्न सकेको छैन । ललितका अनुसार ती व्यक्तिले आफू भारतीय सैनिक भएको भन्दै उनका ‘कागजपत्र’समेत देखाएका थिए ।
घटना ३
गतवर्ष माई नगरपालिकाको शुक्रबारे बजारस्थित माया होटलमा पनि यस्तै घटना भयो । स्थानीय माया गुरुङको होटलमा आएका यही हुलियाका ‘पाहुना’ उनको पि–१०३००१पिए२४९ नम्बरको स्कुटी लिएर बेपत्ता भए ।
होटलमा एक रात बास बसेपछि केही पैसा पनि दिए
तर अलि पर पुगेर आउँछु भन्दै स्कुटी मागे । स्कुटी लिएर गएका ती व्यक्ति
अहिलेसम्म फर्केनन् ।