झापा । नेपाल निजामती कर्मचारी सङ्गठन झापाले आयोजना गरेको वृह्त निःशुल्क स्वास्थ्य शिबिरमा १५ सय ४७ जनाले विभिन्न प्रकारका सेवा लिएका छन् । सङ्गठनले मङ्गलबार भद्रपुर १० स्थित बिरेन्द्र नमुना क्याम्पसमा विभिन्न क्षेत्रबाट आएका सेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन् ।
सङ्गठनका सचिव पूर्णचन्द्र मैनाली(उदय)ले दिएको जानकारी अनुसार हाडजोर्नीमा दुईसय ७६ जना, ल्यावमा एकसय ५२ ,रेडियोलोजिष्टमा ९५, आँखा दुईसय ८, बालरोग ३६, दन्त रोग ८०, इसीजी ४८, शल्यक्रिया २९, नाक,कान र घाँटी एकसय १५, स्त्रीरोग एकसय ६६, मुटुरोग १७ र औषधी सेवामा तीनसय २५जनाले सेवा लिएको जनाए । दर्ता छ सय ८३ भएपनि सेवा भने पन्ध्र सय ४७ जनाले लिएको उनले बताए ।
सङ्गठन झापाका अध्यक्ष हिरण्य न्यौपानेको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न शिबिरमा नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटल विराटनगरले प्राविधिक सहयोग गरेको थियो । सङ्गठनका उपाध्यक्ष चिरन खतिवडाले औचित्यमाथि प्रष्ट पारेको कार्यक्रममा पेशागत महासङ्घ झापाका अध्यक्ष तुलसी भण्डारी, नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटल विराटनगरका निर्देशक डाक्टर राजेश नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भद्रपुर–९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको हो ।
सहकारी अध्यक्ष वशिष्ठ अधिकारी, कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाईँ लगायतले विद्यार्थीहरूलाई ३० दर्जन कापी, पेन्सिल ३० प्याकेट तथा ईलेजर, सापनर र डटपेन समेत गरी ३० हजार मुल्य बराबरको शैक्षिक सामग्री वितरण गरेका थिए । सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नूतन पौडेल र प्रधानाध्यापक निर्मला पौडेललाइ हस्तान्तरण गरेका थिए ।
सामग्री हस्तान्तरण गर्ने सहकारी संस्था प्रति व्यवस्थापन समिति अध्यक्ष पौडेलले धन्यवाद दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि गुरागाईँ, नेपाल निजामती कर्मचारी सङ्गठन झापाका निवर्तमान अध्यक्ष केदार पोखरेल, ९ नम्बर का वडाअध्यक्ष राम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेलले र स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक निर्मला पौडेलले राखेकी थिइन् । त्यसैगरी सहकारीले दुइजना ज्येष्ठ नागरिक शङ्कर भण्डारी र पद्ममा कुमारी नेपाललाइ समेत सम्मान गरेको व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए ।