संयुक्त राज्य अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) की प्रमुख क्रिस्टी नोएमले हार्वर्ड विश्वविद्यालयलाई नयाँ विदेशी विद्यार्थीहरू भर्ना गर्ने प्रमाणिकरण रद्द गरेकी छन् । यस निर्णयसँगै, हार्वर्डमा पहिलेदेखि भर्ना भएका विदेशी विद्यार्थीहरूलाई अब अर्को विद्यालयमा स्थानान्तरण गर्नुपर्नेछ, अन्यथा उनीहरूले अमेरिका भित्रको कानुनी हैसियत गुमाउने छन् ।
यो निर्णय बिहीबार घोषणा गरिएको हो । यो ट्रम्प प्रशासन र हार्वर्ड विश्वविद्यालयबीच बढ्दो तनावको पछिल्लो उदाहरण हो ।
नोएमले हार्वर्डका अध्यक्ष एलन गार्बरलाई लेखेको पत्रमा भने अनुसार, हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभीपी) प्रमाणिकरण तत्काल प्रभावबाट रद्द गरिएको छ ।
यसको अर्थ हार्वर्डले अबदेखि “एफ-” वा “जे-” भिसामा आउने कुनै पनि नयाँ विदेशी विद्यार्थी भर्ना गर्न पाउने छैन । यी भिसाहरू प्रायः अमेरिकी विश्वविद्यालयहरूमा गैर-आप्रवासी विद्यार्थीहरू अध्ययन गर्न प्रयोग गरिन्छन् । अहिले “एफ-” वा “जे-” भिसामा हार्वर्डमा अध्ययन गरिरहेका विद्यार्थीहरूले यदि अमेरिकामा कानुनी रूपमा रहन चाहन्छन् भने उनीहरूलाई अब अन्य मान्यताप्राप्त विद्यालयमा स्थानान्तरण हुनुपर्नेछ ।
क्रिस्टी नोएमले हार्वर्ड विश्वविद्यालयलाई ‘हिंसा प्रोत्साहन, यहूदीविरोधी गतिविधिहरूलाई बढावा दिएको र चिनियाँ कम्युनिष्ट पार्टीसँग समन्वय गरेको’ को आरोप लगाएकी छन् ।
२. विद्यार्थी भिसा अस्वीकृत गर्नु:
अमेरिकी विदेश विभागले विद्यार्थी भिसाका लागि आएका आवेदनहरूको समीक्षा गर्छ । यदि कुनै विद्यार्थीले यस्तो विद्यालयमा जान चाहेको भन्छ जुन अहिले एसईभीपी प्रमाणित छैन, जस्तै हार्वर्ड, भने उनीहरूको भिसा अस्वीकृत गर्न सकिन्छ । यस अर्थमा, यदि कसैले हार्वर्डबाट भर्ना पत्र पाए पनि उनीहरूलाई अमेरिकामा अध्ययन गर्न प्रवेश दिइँदैन ।
यो निर्णयले कति विद्यार्थीलाई असर गर्छ?
हार्वर्डमा अध्ययनरत करिब ६,८०० विदेशी विद्यार्थीहरू यो निर्णयबाट प्रत्यक्ष प्रभावित बन्नेछन्, जुन हार्वर्डको कुल विद्यार्थी संख्याको लगभग २७ प्रतिशत हो ।
अब ती विद्यार्थीहरूले अन्य मान्यता प्राप्त अमेरिकी विश्वविद्यालयमा स्थानान्तरण गर्नुपर्नेछ अन्यथा उनीहरूलाई देश छोड्नुपर्ने जोखिम छ ।
सन् २०२४ को सेप्टेम्बरसम्म हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरू १४६ देशबाट आएका थिए । तीमध्ये चीन, क्यानडा र भारतका विद्यार्थीहरूको संख्या सबैभन्दा बढी थियो, जसले हार्वर्डका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ४० प्रतिशत हिस्सा ओगटेका छन् ।
गत चार वर्षमा हार्वर्डमा विदेशी विद्यार्थीहरूको संख्या २६.७५ प्रतिशतले वृद्धि भएको छ । एफ-१ भिसामा रहेका विद्यार्थीहरूले अध्ययन सम्पन्न गरेपछि ६० दिन, र जे-१ भिसामा रहेका विद्यार्थीहरूले ३० दिन भित्र अमेरिका छोड्नुपर्ने हुन्छ । तर यदि उनीहरूको विद्यार्थीको अवस्था नियम उल्लंघनका कारण समाप्त हुन्छ भने, उनीहरूलाई तुरुन्तै अमेरिका छोड्नुपर्ने हुन सक्छ । हार्वर्डको मामिलामा, अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्थानान्तरण वा देश छोड्न कति समय पाउने भन्ने छन् भन्ने अझै स्पष्ट छैन ।
हार्वर्डले विदेशी विद्यार्थीहरूबाट कति आम्दानी गर्छ?
हार्वर्डका अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पूरै शिक्षाशुल्क तिर्छन्, जुन सन् २०२४–२५ शैक्षिक वर्षको लागि ५९,३२० डलर छ । रुम, बोर्ड तथा अन्य अनिवार्य शुल्कहरू थप २७,६०६ डलर छन् । यसरी प्रति विद्यार्थीको वार्षिक खर्च ८६,९२६ डलर पर्छ ।
हार्वर्डले विदेशी विद्यार्थीहरूबाट कति आम्दानी गर्छ भन्ने ठ्याक्कै विवरण सार्वजनिक गरिएको छैन । तर यदि सबै ६,८०० विद्यार्थीहरूले पूरा शुल्क तिर्दै आएका छन् भने, विश्वविद्यालयले वार्षिक रूपमा ५९१ मिलियन डलरभन्दा बढी आम्दानी गरिरहेको अनुमान गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अमेरिकामा समग्र आर्थिक प्रभाव
एसोसिएसन अफ इन्टरनेसल एजुकेटर्सका अनुसार, सन् २०२३–२४ शैक्षिक वर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकाभित्र शिक्षाशुल्क, शुल्क र जीवनयापन खर्चमार्फत करिब ४३.८ अर्ब डलर योगदान गरेका थिए ।
क्यालिफोर्निया, न्यूयोर्क, म्यासाचुसेट्स, टेक्सास र इलिनोइस ती प्रमुख राज्यहरू हुन् जहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आर्थिक योगदान सबैभन्दा बढी देखिएको छ ।
हार्वर्डको प्रतिक्रिया कस्तो रह्यो?
हार्वर्ड विश्वविद्यालयले डीएचएसको निर्णयविरुद्ध प्रतिक्रिया दिँदै उक्त कदमलाई ‘अवैध’ र आफ्नो शैक्षिक उद्देश्यका लागि ‘गहिरो रूपमा हानिकारक’ भनेको छ ।
एक सार्वजनिक विज्ञप्तिमा हार्वर्डले भनेको छ, ‘हार्वर्ड हाम्रो अन्तर्राष्ट्रिय समुदायप्रति पूर्ण रूपले प्रतिबद्ध छ । अन्तर्राष्ट्रिय विद्यार्थी तथा विद्वानहरूले हाम्रो अध्ययन वातावरणमा महत्वपूर्ण योगदान पुर्याउँछन् र हामी उनीहरूको साथमा उभिन्छौं ।’
विश्वविद्यालयको कानुनी टोलीले हाल सरकारको कदमका कानुनी असरहरूको समीक्षा गरिरहेको र प्रमाणिकरण पुनः बहाल नभए सम्भावित मुद्दा दायर गर्ने तयारी गरिरहेको बताइएको छ ।
यसबिचमा, हार्वर्डले विद्यार्थीहरूलाई आफ्नो अधिकारहरू बुझ्न र स्थानान्तरण विकल्पहरू खोज्न गर्न सहयोग गर्न विशेष परामर्श सेवा सञ्चालनमा ल्याएको छ ।
source : Ratopati