मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |
मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |


तिहारको तेस्रो दिनः आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै

देश प्रदेश डेस्क 5475+ समाचार ( )
४ कार्तिक २०८२, सोमबार

तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा. देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपालले जानकारी दिए।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।

आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन्। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ। यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।

 आज लक्ष्मीपूजा पनि परेको छ।

 ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद्  प्राध्यापक डा. भट्टराईले जानकारी दिए।

यस वर्ष तिथिको घटबढका कारण कुकर तिहार र लक्ष्मी पूजा एकैदिन परेको हो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै