झापा / झापामा लागूऔषधको दुर्व्यसन र कारोबारको अवस्था दिनानुदिन भयावह बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको रोकथाम तथा न्यूनीकरणका लागि आजदेखि विशेष अभियान सुरु गरेको छ।
बढ्दो सामाजिक चुनौती र युवा
पुस्तामा फैलिएको कुलतको जालोलाई तोड्न प्रहरीले तीनवटा मुख्य रणनीतिसहित 'लागूऔषधविरुद्ध झापा अभियान' घोषणा गरेको हो।
कोशी प्रदेशका मुख्यमन्त्री
हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको
विशेष आतिथ्यमा शुरु गरिएको सो अभियानको उद्घाटन मुख्यमन्त्री कार्कीले पानसमा
बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
केवल बल प्रयोग गरेर वा पक्राउ गरेर
मात्र लागूऔषधको गम्भीर समस्या नियन्त्रण नहुने भन्दै सरोकारवालाहरू र समुदायको
सहकार्यमा यसलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ अभियान थालिएको हो।
यस अभियानअन्तर्गत मुख्य रूपमा पाँच
प्रकारका सचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिने भएका छन्।
अभियानको पहिलो कार्यक्रमका रूपमा पोस्टरिङ क्याम्पियन तय गरिएको छ, जसअन्तर्गत पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा
टाँस्नका लागि स्थानीय जनप्रतिनिधिहरूलाई पोस्टरहरू उपलब्ध गराइनेछ।
विद्यार्थीहरूलाई सुरुवाती चरणमै सचेत गराउन शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने
भएकाले दोस्रो कार्यक्रमका रूपमा 'टीच द टिचर्स' सञ्चालन
गरिँदै छ। यसअन्तर्गत लागूऔषधविरुद्ध प्रभावकारी कक्षा सञ्चालन गर्न १५० जना
शिक्षकहरूलाई विशेष तालिम दिएर विद्यालयहरूमा खटाइने योजना रहेको छ।
त्यसैगरी, युवा पुस्तालाई सिर्जनात्मक र सकारात्मक कार्यमा
व्यस्त राख्दै दुर्व्यसनबाट टाढा राख्न तेस्रो कार्यक्रमका रूपमा फुटबल पार्टनरसीप
अघि सारिएको छ। युवा वर्गलाई लक्षित गरी सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत
जिल्लामा पाँचवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिताहरू आयोजना गरिनेछन्। अभियानको
चौथो महत्त्वपूर्ण पाटो 'जान
क्लब' रहेको छ, जसमा राजनीतिक दल, विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजको सक्रिय सहयोग लिइनेछ। यसका
लागि जिल्लाभर रहेका ७१ वटा प्रहरी इकाईहरू मार्फत समुदाय स्तरमा क्लबहरू गठन
गरिनेछ भने सूचना आदान-प्रदानलाई तीव्र पार्दै उत्कृष्ट काम गर्ने क्लबहरूलाई
प्रोत्साहित गर्न विशेष सम्मान समेत गरिनेछ।
उक्त कार्यक्रममा विभिन्न
कलाकारहरुले जनचेतना मुलक नाटक पनि प्रस्तुत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका
प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जिल्लामा लागूऔषधको वर्तमान अवस्था निकै
चिन्ताजनक र भयावह रहेको जनाउदै हाल समग्र झापा जिल्लाभर लागु औषधको बारेमा भए
गरेका कामकारवाहीको जानकारी दिएकी थिइन् । उनीका अनुसार खुला सीमा र अवैध सञ्जालका
कारण चुनौतीपूर्ण बन्दै गएको यो समस्यालाई प्रहरी एक्लैले भन्दा पनि समाजका हरेक
वर्गसँग हातेमालो गरेर मात्रै जरैदेखि उखेल्न सम्भव छ। समुदायको साथ र प्रहरीको
सक्रियता एकीकृत गरी लागूऔषधको माग र आपूर्ति दुवै पक्षलाई रोक्ने उद्देश्यले यो
अभियान निरन्तर रूपमा अगाडि बढाइने बताएकी छिन् ।
बिर्तामोड नगरपालिकासंगको सहकार्यमा
आयोजित उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा
प्रसाई , उपप्रमुख नगेन्द्र संग्रौला , अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह
गोम्देन , उपप्रमुख खड्गमाया पराजुली ,भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन
,कन्काई नगरपालिकाकी उपप्रमुख आशा
सिवाकोटी ,शिवसताक्षी नगरपालिका उपप्रमुख
नरमाया कार्की र गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरलगायत विभिन्न
विद्यालयका विद्यार्थी र संघ संस्थाका प्रतिनिधिहरुको सहभागी थियो।