खुला सीमाको असर : झापामा स्थानीय बेरोजगार बढ्दो चिन्ता

भेषराज नेपाल 23+ समाचार ( )
६ जेठ २०८३, बुधवार

झापा / झापा जिल्लामा खुला सीमाको प्रभाव स्थानीय श्रम बजारमा गम्भीर रूपमा देखिन थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विशेषगरी भारतसँग जोडिएको खुला नाकाका कारण दैनिक ज्यालादारीदेखि उद्योग, निर्माण, होटल तथा साना व्यापार क्षेत्रमा बाहिरी श्रमिकको उपस्थिती बढेपछि स्थानीय युवाले रोजगारी गुमाउँदै गएको गुनासो बढ्न थालेको हो ।

स्थानीय व्यवसायीहरूका अनुसार कम पारिश्रमिकमा काम गर्न तयार हुने भारतीय कामदार सहज रूपमा आउने गरेका कारण धेरै क्षेत्रमा नेपाली श्रमिक विस्थापित हुने अवस्था सिर्जना भएको छ । विशेषगरी ईट्टाभट्टा, निर्माण कार्य, कृषि मजदुरी, होटल तथा साना उद्योगमा बाहिरी श्रमिकको संख्या उल्लेख्य रहेको बताइन्छ ।

स्थानीय युवाहरू भने आफ्नै जिल्लामा काम नपाएर वैदेशिक रोजगारी वा अन्य शहरतर्फ पलायन हुन बाध्य भएको बताउँछन् । “यहाँ काम खोज्दा पहिले नै बाहिरबाट आएका श्रमिकले काम गरिरहेका हुन्छन्,” एक स्थानीय युवाले गुनासो गरे ।

नेपाली नागरिकलाई राेजगार दिदाँ नेपाल सरकारकाे श्रम ऐन अनुसार तलव, भत्ता तथा सामाजिक सुरक्षा काेष जस्ता धेरै प्रकृया पुरा गर्नु पर्छ। जसले गर्दा उद्याेगमा आर्थिक भार पर्छ तर भारतिय श्रमिक प्रयाेग गर्दा सस्ताेमा पनि र कुनै झन्झट नहुने भएकाले बाध्य भएर भारतिय श्रमिक प्रयाेग गरेकाे उद्याेगीहरु बताउछन् ।

सीमावर्ती क्षेत्रमा श्रम व्यवस्थापन, श्रमिक अभिलेखीकरण तथा स्थानीयलाई प्राथमिकता दिने स्पष्ट नीति नहुँदा समस्या झन् जटिल बन्दै गएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । उनीहरूका अनुसार खुला सीमा नेपाल–भारत सम्बन्धको विशेषता भए पनि यसले स्थानीय रोजगारी, सुरक्षा र आर्थिक क्षेत्रमा दबाब सिर्जना गरिरहेको छ ।

श्रम विज्ञहरूले भने प्रतिस्पर्धी सीप विकास र स्थानीय उत्पादन वृद्धि बिना समस्या समाधान कठिन हुने बताएका छन् । उनीहरूका अनुसार केवल सीमा दोषी देखाएर मात्रै समस्या समाधान नहुने भएकाले सरकारले स्थानीय उद्योग, सीपमूलक तालिम र रोजगार सिर्जनामा विशेष योजना ल्याउनुपर्ने आवश्यकता रहेको छ ।

खुला सीमाको फाइदासँगै स्थानीय श्रम बजारमा परेको प्रभावलाई समयमै व्यवस्थापन नगरे झापामा बेरोजगारीको समस्या अझ गम्भीर बन्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार