झापा / पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि काठमाडौंको माईतीघर क्षेत्र शनिबार दिनभर तनावग्रस्त बन्यो। नेकपा (एमाले) का नेता–कार्यकर्ता सडकमा उत्रिएपछि प्रहरीसँग झडप हुँदा स्थिति केही समय नियन्त्रण बाहिर गएको थियो।
शनिबार बिहान प्रहरीले ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखकलाई गत भदाै २३र २४ गतेकाे जेन्जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनासँग सम्बन्धित आरोपमा नियन्त्रणमा लिएपछि एमालेले तत्काल विरोध कार्यक्रम घोषणा गरेको थियो। सोही आह्वानअनुसार सयौं कार्यकर्ता माईतीघर मण्डलामा भेला भई सरकारविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए।
प्रदर्शनकारीले निषेधित क्षेत्रतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीसँग प्रत्यक्ष झडप भएको हो। अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो। लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।माइतीघर तथा बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको थियाे । आफूसहितका प्रदर्शनकारीमाथि प्रहरीले लाठी बर्साएको रामेश्वर फुयालले बताए ।
सँगै रहेका काठमाडौं महानगर –१ बस्ने युवराज ओलीको टाउकोमा नै लाठी लागेको उनले जानकारी दिए । लाठी लागेपछि उनलाई नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको रामेश्वर फुयालले जानकारी दिए ।
प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो ।उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
ओली पक्राउलाई एमालेले राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ। पार्टीका नेताहरूले तत्काल रिहाइको माग गर्दै देशभर आन्दोलन चर्काउने चेतावनी दिएका छन्। यसैबीच, काठमाडौंका माईतीघर, बबरमहल र नयाँबानेश्वर आसपास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने सर्वसाधारणको आवतजावतसमेत प्रभावित भएको छ।
सरकारले भने घटनालाई कानुनी प्रक्रियाअनुसार अघि बढाइएको बताएको छ। तर प्रमुख प्रतिपक्षी दलले यसलाई लोकतन्त्रविरुद्धको कदम भन्दै सडक र संसद् दुबैबाट सशक्त प्रतिवाद गर्ने संकेत दिएको छ। काठमाडौंको पछिल्लो घटनाक्रमले देशको राजनीतिक माहोल फेरि एकपटक तातेको देखिएको छ।