आज देशभर गणतन्त्र दिवस मनाइदै

देश प्रदेश डेस्क 5132+ समाचार ( )
फायल तस्बिर
१५ जेठ २०८३, शुक्रबार

झापा / नेपालमा आज १८औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । २०६५ साल जेठ १५ गते तत्कालीन संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ ।

यस अवसरमा राजधानीकाे टुँडिखेल सैनीक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ ।सैनिक मञ्चमा बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नेछन् । तर यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीको सम्बोधन नहुने भएको छ । अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने परम्परा याे साल ताेडिएकाे छ । उनले गणतन्त्रकाे प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर शीतल निवासमा पत्र पठाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक झाँकीसहित विशेष प्रदर्शन गरिने कार्यक्रम तय गरिएको छ ।

वि.सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

वि.सं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । वि.सं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

वि.सं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

यसैको जगमा वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । वि.सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै