।झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा आज बिहान यात्रुबाहक बस र टिपर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन्।
बिहान ११ बजे दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२–०३–००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते हुनेहरूमा बस चालक कृष्णप्रसाद राजवंशी, यात्रुहरू योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिग्देल, सृजना पराजुली र किस्मत खड्का रहेका छन्।
घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ भने अन्यको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ। प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।