झापा / भोजपुरका किसान पछिल्लो समय परम्परागत खेती प्रणालीबाट व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी उच्च पहाडी तथा चिसो मौसम अनुकूल हुने किवी खेती किसानको आम्दानीको नयाँ आधार बन्दै गएको छ । जिल्लाका विभिन्न गाउँपालिकामा किसानहरूले व्यावसायिक रूपमा किवी उत्पादन सुरु गरेका हुन् ।
कृषि ज्ञान केन्द्रका अनुसार भोजपुरको हावापानी किवी खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो भइरहेको छ । पछिल्ला वर्षहरूमा सरकारी अनुदान, प्राविधिक सहयोग तथा बजारको माग बढ्दै जाँदा किसानहरूको आकर्षण किवी खेतीतर्फ बढेको हो ।
टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवी खेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ ।
किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको छ । यहाँको हावापानी किवी खेतीका लागि अनुकूल भएकाले किसानलाई व्यावसायिक रूपमा खेती विस्तार गर्न प्रोत्साहन गरिएको हो ।
किसानहरूले मकै, कोदो तथा आलुजस्ता परम्परागत बालीभन्दा किवी खेतीबाट बढी आम्दानी हुन थालेपछि बगैंचा विस्तार गर्न थालेका छन् । कतिपय किसानले व्यावसायिक नर्सरीसमेत सञ्चालन गरेर बिरुवा उत्पादन तथा बिक्री गर्दै आएका छन् ।
स्थानीय किसानका अनुसार किवीको माग नेपालका विभिन्न सहरसँगै भारतीय बजारमा समेत रहेकाले बिक्रीमा समस्या नभएको बताएका छन् । उत्पादन राम्रो भए किसानको जीवनस्तर सुधारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
कृषि विज्ञहरूले भोजपुरमा किवी खेतीको सम्भावना अझै ठूलो रहेको भन्दै आधुनिक प्रविधि, भण्डारण तथा बजारीकरणमा ध्यान दिन सके जिल्लालाई किवी उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन् ।