पं. श्री उदय खनाल शास्त्री
अधिको+मास =अधिकमास अर्थात् बर्षमा एकचान्द्र महिना धेरै हुने समयलाई अधिकमास भनिन्छ।सौरमहिनाको अपेक्षामा एक चान्द्रमहिना धेरै हुने पञ्चाङ्ग गणनाको अवस्थिति नै अधिकमास हो।"असङ्क्रान्तिमासोऽधिमास:स्फुटं स्याद्..."
अर्थात् जुन चान्द्रमासमा एउटा पनि सङ्क्रान्ति पर्दैन त्यो चान्द्रमास नै अधिकमास हो।
अधिकमास लाई पुरुषोत्तम मास वा मलमास पनि भनिन्छ। यो हिन्दू चन्द्र-सौर पञ्चाङ्ग अनुसार अतिरिक्त चन्द्र महिना हो।
सौर वर्षमा करिब ३६५ दिन र चन्द्र वर्षमा ३५४ दिन हुन्छ। दुईबीचको अन्तर मिलाउन प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेट मा एक अतिरिक्त महिना थपिन्छ। जुन चन्द्र महिनामा सूर्य सङ्क्रान्ति हुँदैन, त्यसलाई मलमास भनिन्छ।
यो महिनालाई “मल”/अशुद्ध भनिए पनि भगवान विष्णुले यसलाई पुरुषोत्तम मास बनाएर अत्यन्त शुभ बनाउनुभएको शास्त्रीय कथा छ।
मलमास सम्बन्धी जानकारी
नवबधुले अधिकमास/ मलमास र ज्येष्ठमास बार्ने संबन्धमा।
यस वर्षको मलमास कहिले देखि कहिले सम्म छन्?
यस वर्ष २०८३ ज्येष्ठ ३ गते देखि असार १ सम्म अधिकमास परेका छन्।
यस अघिको पछिल्लो मलमास कहिले परेका थिए?
२०८० श्रावण २ देखि श्रावण ३१ गते सम्म।
नवबधुले मलमास किन बार्ने?
आफ्ना पतिको दीर्घायू आरोग्यता एवम् पारिवारिक सुख शान्ति समृद्धि र आफ्नो सौभाग्य प्राप्तिका लागि।
नवबधुले ज्येष्ठमास किन बार्ने?
घरमा भएका आफ्ना पति भन्दा पहिले जन्मेका जेठाजुलाई आयु आरोग्य ऐश्वर्य र सुख प्राप्तिका लागि।
अधिकमास गर्भाधानका लागि पनि शुभ मानिदैन। यस प्रकार नव विवाहित बधुले बिवाह पछिको पहिलो मलमास छल्नुपर्दछ अर्थात् पारिवारिक सुख शान्ति र समृद्धि लागि नवबधुले विवाह पछिको पहिलो मलमास र पहिलो ज्येष्ठ मास दुबै बार्नु पर्दछ।
मलमास र ज्येष्ठमास कति दिन / अवधि बार्ने?
सामान्यतया नवबधुले नियमानुसार मलमास वा ज्येष्ठमास एक महिना पूरा बार्नु पर्छ तथापि सम्भव नभएको खण्डमा केहीदिन अवस्य बार्नु पर्दछ।
मलमास बार्दा कहाँ गएर बस्ने?
नवबधुलाई पति निवास पछिको दोस्रो सुरक्षित ठाँउ माइत अथवा पिता निवास हो।
तसर्थ वि स २०८० भाद्र १ देखि विवाह भएका नववधुले यस वर्षको मलमास बार्नु पर्दछ। त्यस्तै २०८२ असार १ देखि विवाह भएका जेठाजु हुने नवबधुहरूले ज्येष्ठ १ गते देखिनै ज्येष्ठ मास र मलमास दुवै बार्नु पर्दछ।
मलमासमा के गर्न हुन्छ?
यो महिना भगवान विष्णु (पुरुषोत्तम) को आराधनाका लागि उत्तम मानिन्छ। गर्न सकिने मुख्य कामहरू:
नित्य पूजा, आरती, घर–मन्दिरको दैनिक पूजा, विष्णुको स्तुति, विष्णु सहस्रनाम, हरि कीर्तन, भागवत कथा श्रवण।
दान–पुण्य: ब्राह्मण वा गरिबलाई अन्न, वस्त्र (पीत वस्त्र), मालपुवा, जल, दूध–तुलसी अर्घ आदि। दानलाई अश्वमेध यज्ञ जत्तिकै पुण्यकारी मानिन्छ।
नियमित व्रत (पहिले सुरु गरिएका), जप, ध्यान, सत्सङ्ग।
न्वारन, पास्नी जस्ता केही संस्कार।
दैनिक उपभोग्य सामग्री किन्ने।
भूमि दान, तुलसी पूजा, महामृत्युञ्जय जप।
यो महिनामा विष्णु भक्तिका काम गरेमा सामान्य महिनाभन्दा धेरै फल मिल्ने विश्वास छ।
मलमासमा के गर्न हुँदैन?
मलमासलाई शुभ–मङ्गल कार्यका लागि अशुभ मानिन्छ किनकि यसमा सूर्य सङ्क्रान्ति हुँदैन:
विवाह, व्रतबन्ध, चूडाकर्म (टुप्पी काट्ने), गृहप्रवेश, नयाँ घर निर्माण, जग राख्ने।
नयाँ व्यवसाय सुरु गर्ने, नयाँ सवारी किन्ने, ठूलो शुभ कार्य।
नयाँ व्रत सुरु गर्ने (पहिले सुरु गरिएका निरन्तर गर्न सकिन्छ)।
श्राद्ध, पितृकर्म (केही विशेष अवस्थामा अपवाद हुन सक्छ)।
अत्यधिक मांसाहार, तामसिक भोजन, ब्रह्मचर्य भङ्ग आदि।
बच्ने विधान र विशेष उपाय
सात्विक जीवन जिउने।दैनिक विष्णु आराधना: मालपुवा चढाउने, तुलसीमा जल–दूध अर्पण गर्ने।
जप: “ॐ नमो नारायणाय”, विष्णु सहस्रनाम, हरि नाम।
कथा: पुरुषोत्तम मास महात्म्य कथा सुन्नुहोस्।
यो महिनालाई अशुभ ठानेर होइन, अवसरको रूपमा लिनुहोस्। भक्ति, दान र शुद्धताले पाप नाश र पुण्य कमाइन्छ।
सबैको होस् कल्याण हाेस् । राधे राधे