झापा । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निरीक्षणका क्रममा वाइवाइसहित चार ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएकाे पाइएकाे छ । गुणस्तरहीन भेटिनेमा गोलमोल, वाइवाइ, प्रिमियम पिरो र मामा चाउचाउ रहेका छन् । सिजी फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी–३ बर्दियाद्वारा उत्पादित ती चाउचाउको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भेटिएको विभागले जनाएको छ ।
वाइवाइ नेपालमा मात्र नभई भारत, युरोप, अमेरिका लगायतका देशमा समेत बिक्री हुँदै आएकोे छ ।विभागले गोलमोलको ब्याच नम्बर (बि–बिएम२ डि), वाइवाइको ब्याच नम्बर (बि–बिएम१–एक्स), प्रिमियम पिरोको ब्याच नम्बर (बि–बिएम२–सि) र मामा चाउचाउको ब्याच नम्बर (बि–बिएम १–एक्स) का सबै खाद्य वस्तु बजारबाट फिर्ता गर्न पनि निर्देशन दिएको छ ।सो ब्याचका चाउचाउ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यूनस्तर रहेको विभागले जारी गरेको आदेशमा उल्लेख छ ।त्यस्तै, विभागले अखाद्य प्रमाणित भएका चाउचाउ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ को उपदफा (४) अनुसार बिक्री वितरणमा रोक लगाउन पनि आदेश दिएको छ ।