झापा / आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र साह नआएपछि चार राजनीतिक दलले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।
बैठक बहिष्कार गर्नेहरूमा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका विभिन्न जिज्ञासा र प्रश्नहरूको सम्बोधन प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग ती दलहरूले राख्दै आएका थिए ।
प्रधानमन्त्री साह जवाफका लागि संसदमा नआएपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरू सदनबाट बाहिरिएका हुन् । चार दलले बैठक बहिष्कार गरेर बाहिरिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सदनभित्रै उभिएर विरोध प्रदर्शन जारी राखेको छ । कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउँदै आएका थिए ।
यसअघि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले नै संसदमा उभिएर स्पष्टीकरण दिनुपर्ने अडान राख्दै आएका थिए । प्रधानमन्त्रीको अनुपस्थितिले संसदको गरिमा र उत्तरदायित्वमाथि प्रश्न उठेको भन्दै विपक्षी दलहरूले सदनको कामकारबाहीमा असहमति जनाएका हुन् ।