झापा / झापाको भद्रपुरमा मार्बल अनलोड गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाईउड फ्याक्ट्रीमा बन्दै गरेको नयाँ भवनका लागि भद्रपुरमा रहेको महावीर ट्रेडिङ प्रा.लि.ले आयात गरेको मार्बल अनलोड गर्ने क्रममा काठमाडौंका ३१ वर्षीय राजेन्द्र खड्काको मृत्यु भएको हो।
प्रहरीका अनुसार २०८३ साल भदौ २३ गते दिउँसो करिब १२ः४५ बजे भवन निर्माणमा प्रयोग गर्न ल्याइएको मार्बल मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट अनलोड गर्ने क्रममा अचानक मार्बल खड्काको शरीरमाथि थिचिएको थियो।
मार्बलले थिचिएर गम्भीर घाइते भएका खड्कालाई तत्काल उद्धार गरी उपचारका लागि ओम साई पाथीभरा हस्पिटल, भद्रपुर लगिएको थियो। अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक खड्का काठमाडौं महानगरपालिका क्षेत्रअन्तर्गत कोटेश्वर स्थित राम मन्दिरमा बस्दै आएका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको स्थायी ठेगानासहितका थप विवरण खुल्ने क्रममा रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ। मार्बल अनलोड गर्ने क्रममा दुर्घटना कसरी भयो, घटनाको वास्तविक कारण के थियो तथा सुरक्षाका आवश्यक उपाय अपनाइएको थियो वा थिएन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मृतकका आफन्तसँग समन्वय भइरहेको र घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।