झापा । नेपाली सेनाको वार्षिक कार्यक्रम अन्तरगत भद्रपुर–४ स्थित ईष्ट पोइन्ट इंग्लिश स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) को सय दिने प्रशिक्षणको अनुगमन गरिएको छ । किशोरवयका विद्यार्थीहरुलाई तिनको शारीरिक तन्दुरुस्तीसँगै मानसिक विकासका लागि सेनाले त्यस्तो अतिरिक्त क्रियाकलाप सम्बन्धी तालिम दिने गरेको सहायक रथी युवधीरमानसिंह अधिकारीले प्रशिक्षणका सहभागी क्याडेटहरुलाई सम्बोधन गर्दै बताए । ‘राष्ट्रलाई केन्द्रमा राखेर हामी नेपालीले अघि बढ्नुपर्छ । यो देशका कर्णधार आजका विद्यार्थी नै भएकाले अहिल्यैदेखि असल नागरिक बन्ने अभ्यास गरेर भोलि देशको सेवा गर्नेगरी पाइला चाल्नुपर्छ’, उनको भनाइ थियो । राष्ट्रिय सेवा दलको यस्तो प्रशिक्षण कार्यक्रमका लागि यस वर्ष झापा जिल्लाका आठ वटा विद्यालय छनोटमा परेमध्ये झापाको ३ नम्बर क्षेत्रबाट भद्रपुरको ईष्ट पोइन्ट इंग्लिश स्कूल मात्र परेको छ । स्कूलका सञ्चालक राजेन्द्र घिमिरेका अनुसार, गत असार १५ गतेदेखि शुरु भएको यो कवाज प्रशिक्षणमा कक्षा–८ र ९ का १४ देखि १६ वर्ष उमेर–समूहका १८ छात्र र १८ छात्रा सहभागी छन् । सञ्चालक घिमिरेले ‘यो तालिमले विद्यार्थीहरुलाई शारीरिक रुपमा सबल बन्न र र मानसिक रुपमा आत्मविश्वास बढाउन मद्दत गर्नुका साथै दुर्व्यसन र खराब संगतबाट टाढा राख्न समेत सघाउँछ ।’ स्कूल परिसरमा भदौ ११ गते सेनाद्वारा गरिएको अनुगमनका क्रममा सहभागी प्रशिक्षार्थीहरुले आकर्षक कवाज प्रस्तुत गरेका थिए । अनुगमनका क्रममा प्रमुख सेनानी प्रजु बस्न्यात र सहसेनानी चन्दा बानियाँ समेत सहभागी थिए ।
अब सैद्धान्तिक र प्रयोगात्मक तालिममा सहभागी विद्यार्थीहरुलाई स्कूलमा दिइने तालिम पश्चातको अन्तिम २० दिन सेनाको क्याम्पमा लगेर समापन चरणको तालिम दिइएपछि प्रशिक्षार्थीहरु उत्तीर्ण (पासआउट) हुने बताइएको छ ।