झापा / सुनसरीको वराहक्षेत्र नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा प्राप्त गर्ने प्रक्रियामा अघि बढाउन निस्सा वितरणलाई तीव्र बनाएको छ।
नगरपालिकाका ११ वटै वडामा गरी १० हजार ४०७ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी निस्सा पाउने प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ। अधिकांश वडामा निस्सा वितरण भइसकेको भए पनि वडा नम्बर १, ३, ४ र ६ मा वितरण गर्न बाँकी रहेको छ।
नगरपालिकाका अनुसार वडा नम्बर १ मा १ हजार २५४, वडा नम्बर २ मा १ हजार ७१८, वडा नम्बर ३ मा १ हजार ८०९, वडा नम्बर ४ मा ४४७, वडा नम्बर ५ मा ६८३ र वडा नम्बर ६ मा ५१८ जना निस्सा पाउने प्रक्रियामा छन्।
त्यस्तै वडा नम्बर ७ मा सबैभन्दा धेरै २ हजार ४९८ जना, वडा नम्बर ८ मा ५४९, वडा नम्बर ९ मा १४५, वडा नम्बर १० मा ३६२ र वडा नम्बर ११ मा ४२४ जना निस्सा पाउने सूचीमा रहेका छन्।
यसै क्रममा वराहक्षेत्र–१० ले ३६२ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिसकेको वडाध्यक्ष तेजबहादुर गुरुङले बताएका छन्।
नगरपालिकाका प्रशासन प्रमुख मातृका प्रसाद तिवारीका अनुसार बाँकी चार वडामा पनि निस्सा वितरणका लागि आवश्यक तयारी भइरहेको छ। तयारी पूरा भएपछि ती वडामा वितरणको काम अघि बढाइनेछ।
निस्सा वितरणपछि सम्बन्धित प्रक्रिया पूरा गरी जग्गा नापजाँच तथा जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ। प्रशासन प्रमुख तिवारीका अनुसार निस्सा जग्गाधनी पुर्जा प्राप्त गर्ने प्रक्रियाको आधारका रूपमा रहनेछ।