१८ वर्षपछि गणतन्त्रको ऐना : नेपालीले के पाए, के गुमाए ?

भेषराज नेपाल 30+ समाचार ( )
१५ जेठ २०८३, शुक्रबार

आज नेपालले १८औँ गणतन्त्र दिवस मनाइरहेको छ । सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ । त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ ।

सैनिक मञ्चमा बिहान ८ बजेदेखि सैनिक परेड, औपचारिक समारोह, राष्ट्रिय झण्डा र भाषणहरूको बीचमा एउटा मौन प्रश्न फेरि नेपाली समाजको मनभित्र उठिरहेको छ, के नेपाली जनताले साँच्चै गणतन्त्रको अनुभूति गर्न सके ?

२०६५ साल जेठ १५ गते नेपालले इतिहासको एउटा ठूलो मोड पार गर्‍यो । सदियौँ पुरानो राजतन्त्र अन्त्य भयो । जनताको नाममा सत्ता आयो । संविधानसभाले “अब देशको मालिक जनता” भन्ने घोषणा गर्‍यो । त्यो दिन धेरैका आँखामा सपना थियो ।अब अन्याय हट्नेछ, अवसर बराबर हुनेछ, गाउँमा सिंहदरबार पुग्नेछ, युवा विदेशिनुपर्ने छैन, किसानले दुःखको मूल्य पाउनेछ, र राज्य साँच्चै जनताको हुनेछ ।

तर १८ वर्षपछि गाउँका खाली घरहरू, विदेशिएका युवाका बाकस, वृद्ध बाबुआमाका प्रतीक्षामा टोलाएका आँखा, ऋणमा डुबेका किसान, उपचार नपाएर मर्ने नागरिक र भ्रष्टाचारका फाइलहरूकाे चाङ्ले एउटा कठोर यथार्थ देखाइरहेका छन् । "व्यवस्था फेरियो, अनुहार फेरिए, तर धेरै नेपालीको जीवन फेरिन सकेन" ।

गणतन्त्रको उत्सव र जनताको मौनता

आज टुँडिखेलमा औपचारिक उत्सव हुनेछ । राष्ट्रिय गान बज्नेछ, सम्मान गारतलगायत विभिन्न झाँकीहरु हुनेछन्, नेताहरू मुस्कुराउनेछन् । तर देशका धेरै नागरिकको मनमा उत्सवभन्दा प्रश्न बढी छन् ।

किनकि गणतन्त्रको सबैभन्दा ठूलो प्रतिज्ञा “जनताको शासन” थियो । तर आम नागरिकले अझै पनि राज्यलाई आफ्नोभन्दा टाढाको शक्ति जस्तो महसुस गरिरहेका छन् ।

गाउँका युवालाई आज पनि भविष्य नेपालमा होइन, खाडी र मलेसियाको विमानस्थलमा देखिन्छ । किसानले उत्पादनको मूल्य पाउँदैन । साना व्यवसायी बैंकको ब्याजले थिचिएका छन् । पढेलेखेका युवा जागिर नपाएर निराश छन् ।

यही पीडाले गर्दा अहिले सामाजिक सञ्जालदेखि चिया पसलसम्म एउटा वाक्य बारम्बार सुनिन थालेको छ,
“गणतन्त्र आयो, तर हाम्रो जीवनमा के बदलियो ?”

समस्या व्यवस्थामा कि नेतृत्वमा ?

राजनीतिक विश्लेषकहरू भन्छन्, समस्या गणतन्त्रमा भन्दा त्यसलाई चलाउने नेतृत्व र राजनीतिक संस्कृतिमा बढी छ ।

गणतन्त्रले अवसर दिएको थियो, तर त्यो अवसरलाई जनताको पक्षमा प्रयोग गर्नुपर्ने राजनीतिक इमानदारी कमजोर देखियो । सत्ता परिवर्तन भयो, तर प्रवृत्ति परिवर्तन भएन । दल फेरिए, गठबन्धन फेरिए, तर नागरिकका आधारभूत समस्या उस्तै रहे ।

भ्रष्टाचारका काण्डहरू थप ठूला भए । राजनीतिक भागबन्डा संस्थागत जस्तै बन्यो । जनताले परिवर्तनको अनुभूति गर्नुपर्ने ठाउँमा निराशा अनुभव गर्न थाले । न्याय क्षेत्रमा राजनितिक घुस्याे । ठुलालाई चैन सानालाई ऐन सार्थक भयाे । यही कारण पछिल्ला वर्षहरूमा राजावादी भावना पुनः चर्चामा आउनु, वैकल्पिक शक्तिप्रति आकर्षण बढ्नु र राजनीतिक प्रणालीमाथि प्रश्न उठ्नु सामान्य घटना होइनन् । त्यो जनताको मौन असन्तुष्टिको संकेत हो ।

गणतन्त्रको असली परीक्षा अब सुरु हुँदैछ

गणतन्त्र केवल एउटा राजनीतिक शब्द होइन । यो जनताको सम्मान, अवसर र भरोसाको प्रणाली हो ।

यदि नागरिकले न्याय पाउँदैनन्, यदि युवा देशमै भविष्य देख्दैनन्, यदि राज्य केवल नेताको वरिपरि सीमित हुन्छ भने गणतन्त्र कागजमा मात्रै सीमित हुने खतरा रहन्छ ।

आजको सबैभन्दा ठूलो आवश्यकता गणतन्त्रको रक्षा गर्ने नाराभन्दा पनि जनताको भरोसा जोगाउने काम हो ।

किनकि इतिहासले देखाएको छ, "व्यवस्था बन्दुकले टिक्दैन, भाषणले टिक्दैन र सत्ता गठबन्धनले पनि टिक्दैन" ।
व्यवस्था टिकाउने अन्तिम शक्ति जनताको विश्वास हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार