झापा / पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।
स्कुल बससहित चार वटा बस, दुइटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।
काठमाडौंबाट जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको भारतीय डिब्बा गाडीको ब्रेक फेल भएपछि त्यसले अरू गाडीहरूलाई ठक्कर दिएका कारण साे दुर्घटना भएकाे हाे ।
डिब्बा गाडीसँगै गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको बा १ प ९१७ नम्बरको यात्रुबाहक बस, विपरीत दिशाबाट गजुरीतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, भारतको जिजे ०३ एजेड ३२३१ नम्बरको भारतीय यात्रुबाहक बस, बा.प्र.०६-००१ ग ००११ नम्बरको श्री सेकेन्डरी स्कुल रेडक्रस ग्राम चितवनको स्कुल बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल गरी सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किएका थिए।
दुर्घटनामा परि ७० जना घाइते भएका छन् भने दुई जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे छ ।
मोटरसाइकल चालक धादिङ थाक्रेका सेख अलि शरिरका विभिन्न भागमा गम्भीर चोट लागी टिचिङ अस्पताल लगिएकोमा साँझ ६:१५ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। साथै पहिचान नखुलेका एक पुरुषको पनि सोही समयमा मृत्यु भएको पुष्टि भएको छ। दुवै शव टिचिङ अस्पतालमै राखिएको छ।
दुर्घटनामा परी घाइते भएकाहरूमा गोरखा पालुङटारका विनोद पोखरेल, मिना पनेरु, इन्दिरा देवकोटा र काठमाडौं तार्केश्वरकी सिता पोखरेललाई टाउको र हातखुट्टामा चोट लागेको थियो र उनीहरूलाई ट्रमा सेन्टर काठमाडौँ पठाएर उपचार भइरहेको छ। लमजुङका अजय घिमिरे, उनकी श्रीमती सूर्य घिमिरे र छोरा कुशल घिमिरे सामान्य घाइते भई उपचारपछि डिस्चार्ज भएका छन्।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको स्कुल बसमा सवार शिक्षक गोपी विश्वकर्मासहित चालक उदयबहादुर थापा, सुवित थिङ, सबिता थिङ, यमवि श्रेष्ठ, रमित परियार, समिर मगर, इस्माइल थिङ, कमला लामिछाने, सचिन गुरुङ, शिव लामिछाने, आस्विन प्रजा, राधिका चेपाङ, मिलन तामाङ, कशिस तामाङ, सन्तोष प्रजा, बिराज तामाङ, जयराम अर्याल, निशान गुरुङ, समिर परियार, जसमिन श्रेष्ठ, कमल गुरा, रबिना सुनार, प्रतिमा मगर, आयुब बी.क., बिमला तामाङ लगायत घाइते भएका थिए। तीमध्ये धेरैको अवस्था सामान्य छ भने केहीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
अन्य घाइतेहरूमा गोरखाका राजु कार्की, आन्द्रे पोखरेल, शरु शर्मा, भिक शर्मा, सपना श्रेष्ठ, प्रबिन न्यौपाने, सुस्मिता ढकाल, हरी खनाल, म्यानी खड्का, सुनिता अधिकारी, सुमित न्यौपाने, मनिस खड्का, अमूल्य लामिछाने, प्रिसियस लामिछाने, अन्जली खड्का, अर्चना खड्का, चिराग घिमिरे, दृष्टि घिमिरे, मञ्जु घिमिरे, भगवती घिमिरे, कमल राना मगर, शंकर अछामी, सिर्जना अछामी, समर अछामी र सुमन बयालकोटी रहेका छन्।
साथै चिनियाँ नागरिकहरू होउ लेई, लिया शुरोङ, ताङ दाएन र क्वीजे जियाङ्ग्यानसहित कुल ७० जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ट्राफिक टोलीसहित सुरक्षा टोली खटिएको थियो।
दुर्घटनाका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग राति ११ बजेपछि दुईतर्फी सञ्चालनमा आएको थियो।