मे महिनामा पर्यटककाे उच्च आगमन

भेषराज नेपाल 36+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

झापा / नेपालमा सन् २०२६ काे मे महिनामा पर्यटकहरुकाे उच्च आगमन भएकाे छ ।

अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार मे महिनामा १ लाख २ हजार ६२६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या २०२५ को मे महिनाको तुलनामा १९.०३ प्रतिशत अधिक हो । सो महिना ८६ हजार २१६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

यो वर्ष मे महिनामा आएको पर्यटक संख्या कोभिडअघि सन् २०१९ को सोही महिनाको तुलनामा समेत धेरै हो । सो वर्षको मे महिना ७८ हजार ३२९ पर्यटक आएका थिए ।

प्रि–मनसुन रहेको यो सिजन नेपालमा पर्वतारोहण, पदयात्राका गतिविधि अधिक हुन्छन् । यसबाहेक भारतीय पर्यटक गर्मी छल्न समेत ठूलो संख्यामा नेपाल भ्रमणमा आउँछन् ।

नेपालले हवाई मार्गबाट आएका भारतीय नागरिकलाई मात्र पर्यटकका रुपमा गणना गर्छ । यसरी आउने भारतीय पर्यटकको संख्यामा ३२.६६ प्रतिशतको विस्तार हुँदा समग्र पर्यटक आगमनमा सुधार देखिएको हो ।

बोर्डका अनुसार मे २०२६ मा ४० हजार ७८२ भारतीय नेपाल आएका छन् । अघिल्लो वर्ष सोही महिनामा २८ हजार १६० भारतीय आएका थिए । भारतीय पर्यटकको संख्यामा भएको सुधारले यस वर्ष समग्र सार्क मुलुकको तथ्यांकमा पनि सुधार भएको देखिन्छ ।

बोर्डका अनुसार सार्क क्षेत्रबाट यस वर्ष अघिल्लो वर्षको मे महिनाको तुलनामा ३३.४ प्रतिशत धेरै पर्यटक आएका छन् । बंगलादेशबाट ५ हजार २९८, भुटानबाट १ हजार ३६०, पाकिस्तानबाट ४३४ र श्रीलंकाबाट ५८० पर्यटक यस महिनामा नेपाल आएका छन् । मे महिनामा नेपाल आएका पर्यटकमध्ये सार्क मुलुकको हिस्सा ४७.२२ प्रतिशत बराबर छ ।

चीनबाट समेत आगमन सुधार भएको छ । तथ्यांक अनुसार मे २०२६ मा ११ हजार ५१४ पर्यटक चीनबाट आएका छन् । सन् २०२५ मा चिनियाँ पर्यटक ८ हजार ८२४ जना आएका थिए । सार्कबाहेक एसियाका अन्य मुलुकबाट कुल पर्यटकको १९.९४ प्रतिशत हिस्सा ओगट्ने गरी पर्यटक आगमन भएको छ । इण्डोनेसियाबाट ४२८, जापानबाट १७ सय ५६, मलेसियाबाट २८ सय ५७, म्यानमारबाट ३३५, फिलिपिन्सबाट ६०४ पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । यसैगरी सिंगापुरबाट ४४६, दक्षिण कोरियाबाट १२ सय १७, भियतनामबाट ४४६ र थाइल्याण्डबाट ८२४ पर्यटक आएका छन् ।

यूरोपेली मुलुकबाट कुल पर्यटकको १३.१० प्रतिशत बराबर पर्यटक आगमन यो महिनामा भएको छ । जसमध्ये सबैभन्दा धेरै बेलायतबाट ३ हजार ३७५ पर्यटक आएका छन् । फ्रान्सबाट ११ सय ५४, जर्मनीबाट १५ सय ४८, नेदरल्याण्डबाट १२ सय ७८ र रुसबाट १५ सय ५० पर्यटक आएको बोर्डले जनाएको छ ।

अस्ट्रेलियाबाट २ हजार ७० पर्यटक आएको तथ्यांक छ । अमेरिकी मुलुकबाट आउने पर्यटक हिस्सा १०.३५ प्रतिशत छ । जसमा सबैभन्दा धेरै अमेरिकाबाट ९ हजार १ पर्यटक आएको तथ्यांक छ । गत वर्षको तुलनामा अमेरिकी पर्यटकको संख्या भने केही कमी आएको छ । सन् २०२५ मे मा ९ हजार ७४ पर्यटक आएको तथ्यांक छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार